अपडेट 
२०८० चैत्र २०, मंगलवार १७:४९

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताए।

उनले अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताए।

‘सुशासन ल्याउने प्रयासमा अहिले सरकार त लागेको छ, कहाँसम्म पुगिन्छ। अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ,’ उनले भने, ‘पूरै बाधक छ। यसलाई संशोधन गरौं। अहिलेको शासकीय स्वरूपबाट समाजवाद हुनै सक्दैन।’

उनले अहिलेको तमासाबाट समाजवाद नआउने दाबी गरे। उनले समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताए।

‘यो शासकीय स्वरूप बदल्नुपर्छ। यो निर्वाचन प्रणालीले पनि जहाँ करोडौं, करोड एउटा उम्मेदवारले खर्च गरेर संसदमा पुग्छ। यसबाट समाजवादको आशा गर्न सकिँदैन,’ उनले भने, ‘निर्वाचन प्रणाली बदल्नैपर्छ। शासकीय स्वरूप बदल्नुपर्छ र लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रलाई रूपान्तरित गर्नुपर्छ। संविधान परिवर्तन नगरीकन उन्मुख लेखेर मात्रै उन्मुख हुँदैन।’

अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे। उनले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताए।

Comment


Related News

Latest News

Trending News