अपडेट 
२०८० चैत्र २३, शुक्रबार ०७:४४

पूर्व–पश्चिम कञ्चनपुर–कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसहासम्म निर्माणाधीन सडक योजनाको बिहीबार एक टोलीले अनुगमन गरेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको जिल्ला स्तरीय टोलीद्वारा निर्माणाधीन सडक योजनाको अनुगमन गरेका छन् । सो टोलीले निर्माणाधीन सडक योजनाको स्थलगत निरीक्षण गरी जानकारी लिएका छन् ।

सडक निर्माण कार्यको गुणस्तरीयता, योजना कार्यान्वयनमा देखिएको समस्या, कामको हालसम्म भएको प्रगति, सडक निर्माणका क्रममा हुन सक्ने डुबानको समस्या र निकास, नदीजन्य पदार्थहरुको उपयोगिता र गुणस्तरीयताको विषयमा जानकारी लिएको अनुगमन टोलीमा सहभागी एक सदस्यले जनाए ।

अनुगमन टोलीले निर्माणाधीन सडक योजनाको कामको अवस्था र गुणस्तरीयता, खोलाहरुमा निर्माण हुँदै गरेको पुलको कार्य र चाइना रेल्वे पूर्वी क्याम्पमा गरिने निर्माण सामग्रीहरुको ल्याब टेष्टबारे समेत जानकारी लिइ आवश्यक सुझाव दिएका थिए । अनुगमन पश्चात् पाइएको कमीकमजोरी तथा सुधारका लागि गर्नुपर्ने कामबारे निर्माण कम्पनीका प्रतिनिधि तथा योजनासँग सम्बन्धित प्राविधिकहरुलाई निर्देशन दिइएको प्रजिअ किरण थापाले बताए ।

सडक निर्माण कार्यमा देखिएको ढिलासुस्ती तथा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरु मार्फत् सडकको गुणस्तरीयताबारे उठाएको सवालको यथार्थताबारे गृहमन्त्रीको निर्देशन बमोजिम सडक योजनाको अनुगमन गरिएको उनले जानकारी दिए । सडक निर्माणको क्रममा सर्वसाधारणमा धुलो तथा अन्य कुनै समस्या भएको बारे र प्रदूषण नियन्त्रणका लागि निर्माण कम्पनीबाट भइरहेको प्रयासका सम्बन्धमा जानकारी लिँदै प्रजिअ थापा नेतृत्वको टोलीले धुलोको समस्या नआउने गरी पानीको व्यवस्था मिलाउन निर्देशन समेत दिएका थिए ।

प्रजिअ थापा नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिध्दि बज्राचार्य, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख अनुसन्धान उप–निर्देशक सुरेन्द्र प्रसाद कोइराला, सडक डिभिजन कार्यालय लहानका प्रमुख खड्ग लाल श्रेष्ठ, ठेकेदार कम्पनीका प्रतिनिधिलगायत योजना अन्तर्गतका प्राविधिक टोलीको समेत सहभागिता रहेको थियो ।

कञ्चनपुर–कमला सडक योजनाको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिंग ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ्ग कनसल्टेसिंग प्रालि. (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन (बंगलादेश) र एसोसिएसन विट प्रालि नेपाल रहेको छ ।

सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि सुरु भइ २०२३ अक्टोबर २८सम्म सक्नुपर्ने भए पनि समयमा काम सम्पन्न नभएपछि पुनः १४ महिना म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको सडक डिभिजन कार्यालय लहानका योजना शाखाका इन्जिनियर राजिव झाले बताए । कञ्चनपुर–कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसहासम्मको ३९.४२ किमिको निर्माण कार्य ४४. ५ प्रतिशत सम्पन्न भएको उनले बताए । कुल बजेट ७ अर्व २७ करोड ७६ हजार २ सय ३४ रुपैयाँ रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News