अपडेट 
२०८० चैत्र २४, शनिबार ०७:०३

विद्यार्थी जीवनको ‘फलामे ढोका’ भनिने पुरानो एसएलसी र नयाँ एसईई (सेकेण्डरी एजुकेशन एग्जाम) सुरु हुने वित्तिकै शिक्षक, कर्मचारी, प्रहरी–प्रशासन, एनजीओ, जनप्रतिनिधि, शिक्षाप्रेमी, संचारकर्मी आदि इत्यादिको चहलपहल तीव्र हुन्छ । परीक्षामा निरीक्षक, गार्ड, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा अनुगमनकर्ताको रुपमा सहभागी गराइ दिन भएभरका जोड–दम लगाइन्छ ।

टाठा–बाठाहरु प्रवशपत्र पनि प्राप्त गर्छन् । अनि सुरु हुन्छ– परीक्षा केन्द्रहरुमा अनुगमनकर्ताहरुको ओहोर– दोहोर । परीक्षाहलभित्र अनपेक्षित व्यक्तिहरुको अनावश्यक ओहोर–दोहोरले विद्यार्थीहरुको मन मस्तिष्कमा कस्तो प्रभाव पर्छ ? अनुगमनकर्ताहरुको चासोको विषय भएन । चिट समातेर, परीक्षार्थी र गार्डमाथि कारबाही गरे पुग्यो ।

अनि अर्को दिनदेखि पत्रपत्रिका, रेडियो, टेलीभिजनदेखि सामाजिक सञ्जालका पर्खालहरुमा ठुल्ठुला अक्षरमा लेखिन थाल्छन्– ‘मधेशका विद्यालयहरुमा चिट चोरी भयो । अमुक विद्यालयबाट अमुक संख्यामा विद्यार्थी र निरीक्षक समातिए । अमुक थान मोबाइल नियन्त्रणमा लिइयो । दोषीमाथि कडा कारबाही गर्ने स्थानीय प्रशासनको चेतावनी । आदि आदि ।’

मधेशका विद्यालयहरुमा चोरी भएको समाचार पटक पटक पढे र देखे–सुनेका कापीजाँचकीहरुले मधेशका विद्यार्थीहरुको कापी जाँच्ने बेला कुन मनोविज्ञानले काँपी काटेको होला, सहजै अनुमान गर्न सकिन्छ । मधेशमा हुने एसईईको परीक्षा होस् कि प्लश टू वा युनिभर्सिटीको, यसमा चिट चोरी हुन्छ भन्ने भाष्य नयाँ होइन । परीक्षाहरुमा चिट चोरीको सिधा सम्बन्ध राजनीतिसंग छ । राजनीतिक आन्दोलनहरुसंग छ । २०३६ सालको जनमत संग्रहको सेरोफेरोमा भएको एसएलसी परीक्षामा नेपालभरि नै चिट चोरी भएको स्मरण धेरैलाई होला । २०४६ सालको आन्दोलनताका पनि चिट चोरिएको थियो ।

२०६२/२०६३ को मधेश विद्रोहदेखि सुरु भएको चिट चोर्ने परम्परा भने कमोवेश अहिले पनि जारी छ । विद्यार्थीहरु किन चिट चोर्न खोज्दै छन् ? यसका लागि अभिभावकहरु किन सहजकर्ताको भूमिका निर्वाह गर्न तयार हुन्छन् ? विद्यार्थीहरुको सिकाई पुगेन कि? विद्यालयमा विषयगत शिक्षक, न्यूनतम भौतिक संरचना, पढ्न सक्ने वातावरणको अभाव छ कि ? परीक्षा हलभित्रै प्रवेश गरेर चिट चोर्ने परीक्षार्थी र निरीक्षक माथि कारबाही गर्ने हैसियतका पदाधिकारीले यस विषयमा पनि ख्याल गरी दिँदा चिट चोर्ने बाटोलाई सँधैका लागि थुन्न सकिन्छ ।

परीक्षाहल भित्र प्रवेश गरेर परीक्षार्थीलाई डिस्टर्व गर्नुको सट्टा प्रवेश विन्दुमै सम्पूर्ण अवाच्छित सामग्रीहरु नियन्त्रणमा लिने अनि परीक्षा केन्द्रको वरिपरि सुरक्षा व्यवस्था कडा बनाए पछि चिटको स्रोत नै थुनिन्छ । हो, बेला बेला परीक्षा केन्द्र भित्र फ्लेप बनाउँने शिक्षकहरु पनि भेटिन्छन् । यस्ता माथि कारबाही गर्न अति सजिलो छ । तर सरोकारबालाहरुको उद्देश्य चिट चोर्न रोक्नु भन्दा पनि काठमाण्डुले बनाएको भाष्यलाई निरन्तरता दिनु देखिन्छ ।

अनि अभिभावकहरु भन्न थाल्नु हुन्छ – ‘मधेशका स्कूल र कलेजमा चोरी हुन्छ । बालबालिकाको उज्वल भविष्यका लागि काठमाण्डुमा नाम लेखाऔं ।’ यदि काठमाण्डुका सबै कलेज असल छन् भने काठमाण्डुका हुने खाने वर्गका बालबालिका उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिका, कानाडा, इंग्लैण्ड किन जान्छन ? फेरि कस्तो अचम्म, मधेशका शिक्षकहरुले नै मैथ, साइन्स आदि विषय पढाउने काठमाण्डुका कलेजहरु उत्कृष्ट र जनकपुरधामका खराब? मधेशमा योग्य शिक्षकको कमी छैन ।

भौतिक संरचनाले भरिपूर्ण अनेकाँै विद्यालयहरु छन् । जनकपुरधाम भन्दा १६ किलो मिटर पूर्वमा अवस्थित सुदूर गाउँ गिद्धा–बेलापटीतिनकौरिया चोक) मा जनता नमुना माध्यमिक विद्यालय छ । प्राविधिक धारको यस स्कुलमा झण्डै ७ हजार विद्यार्थी अध्ययनरत छन् । ७७जना शिक्षक कार्यरत छन् । विद्यालयमै प्राथमिक स्वास्थ्य केन्द्र, योग केन्द्र, कम्प्युटर लैब, भेटेनरी लैब आदि सम्पूर्ण सुविधा छन् । मधेशका आठवटै जिल्लाका विद्यार्थी सुदूर गाउँको यस विद्यालयमा अध्ययनरत छन् ।

यो विद्यालय सर्वाधिक विद्यार्थी संख्या भएका मुलुकका विद्यालयहरुमध्ये यो विद्यालय तेश्रो हो । प्रधानाध्यापक पवनकुमार मण्डल यसलाई मुलुककै पहिलो विद्यालय बनाउने लक्ष्य लिएका छन् । उनि भन्छन–‘विद्यार्थी संख्या मात्र होइन, गुणस्तरीय शिक्षाको श्रेत्रमा पनि मुलुकको पहिलो विद्यालय बनाउने लक्ष्य छ ।’ कुनै जमानामा धनुषामा नाम चलेका सरस्वती, जानकी, कन्या, बरकुर्वा, यदुकुहा, धबौली आदि विद्यालयहरु अचेल धराशायी बन्दै छ ।

चिट चोर्न रोक्नुको साथै सरोकारवालाहरुले यी विद्यालयहरुकोदशा– दिशामाथि ध्यान केन्द्रित गर्नु बेस होला कि ? अध्ययनको नामका मुलुकबाट वर्षेनि अर्बौ रुपियाँ विदेश गएको भन्दै नेपाल सरकार गोहीको आँसु चुहाउँदै छ । मधेशबाट पनि शिक्षाको नाममा वर्षेनि करोडाँै रुपियाँ विदेश र काठमाण्डु जाँदै छ । यसलाई रोक्न मधेश सरकारसंग कुनै योजना छ ? मधेशका विद्यार्थीलाई काठमाण्डु तान्ने भाष्यको जवाफ मधेश सरकारसंग छ ? मधेश सरकारका सरोकारवालाहरुसंग आग्रह एक पटक तिनकौरिया माविको स्थलगत निरीक्षण गर्नु होस् ।

Comment


Related News

Latest News

Trending News