अपडेट 
२०८० चैत्र २४, शनिबार ०८:२०

हिजो दिउँसो अशान्त रहेको सुनसरीको हरिनगर क्षेत्र आज शान्त रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले हरिनगरसहित ५ वटा पालिकामा अर्को सूचना नआउँदासम्म हिजो बेलुका कर्फ्यु आदेश जारी गरेपछि अवस्था शान्त बनेको हो ।

हिजो दिउँसो हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । सुरक्षाकर्मीले भीड र प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा १९ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । घाइते केहीको अहिले पनि स्थानीय अस्पतालमा उपचार भैरहेको र सामान्य घाइते उपचारपछि फर्किएका सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिनुभयो ।

आज बिहान साढे १० बजे सर्वदलीय बैठक बस्दैछ । बैठकपछि अवस्थालाई ध्यानमा राखेर कर्फ्युबारे आवश्यक निर्णय हुने उहाँले बताउनुभयो । अस्ति एसईईको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकादेखि पाँचवटा पालिका हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ । कर्फ्यु आदेश भएका क्षेत्रमा भेला, प्रदर्शन, सभासम्मेलन, धार्मिक कार्य गर्न रोक लगाइएको छ ।

ती क्षेत्रमा अत्यावश्यक अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरिएको छ । पूर्व पश्चिम राजमार्गमा अहिले नियमित रुपमा गाडी चलेका छन् । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News