अपडेट 
२०८० चैत्र २६, सोमबार ०६:४१

भारतमा हुन लागेको लोकसभा निर्वाचनको मुखमा नेपालबाट मदिराको तस्करी बढेको छ ।चुनावमा मतदातालाई प्रभावित गर्न सस्तो मूल्यका मदिराहरु तस्करी भएर भारतको बिहार जान थालेको बताइएको छ ।

नेपालबाट अवैध रुपमा भारततर्फ लग्न थालेको नेपाली मदिरा सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ कोनिया सीमावर्तीबाट बरामद गरेको छ । शनिबार अवेर राति टाटासुमो गाडीमा लोड गरी भारतको बिहारमा तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा सशस्त्र प्रहरीले बरामाद गरेको छ । गस्तीमा रहेको प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ कोनियाबाट रक्सी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शनिबार मध्यराति बीआर १० जे ८२०१ नम्बरको टाटा सुमो गाडीको चेकजाँच गर्ने क्रममा रोके पछि चालक फरार भएका थिए । नाकामा रोकिएको गाडीलाई चेकजाँच गर्दा सो मदिरा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिक्कै चालक फरार भएको जनाएको छ । गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन शीलबन्दी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताएका छन् ।

मदिरासहितको भारतीय नम्बरको टाटासुमो गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक कर्माचार्यले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५ रुपैयाँ मूल्यांकन गरिएको उनले बताए । बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताउँदै उनले भने, ‘भारतमा भइरहेको लोकसभा चुनावका लागि मदिरा लग्न थालेको होला ? भारतको बिहार राज्यमा झण्डै एक दशक यता देखि मदिराको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ ।

बिहारसित सीमा जोडिएको नेपाली बजारहरुबाट भारी परिमाणमा अवैध रुपमा मदिरा जाने गरेको बताइन्छ । भारतमा ५ चरणमा लोकसभाको चुनाव हुँदैछ । पहिलो चरण चुनावका लागि नामांकन भइसकेको छ । बिहारमा मदिराको बेचबिखन र सेवनमा कडा प्रतिबन्ध छ । मदिरा बेचबिखन, सेवनमा पक्राउ पर्नेलाई जेल र जरिवाना दुवै गरिन्छ ।

नेपाली बजारमा सस्तो मूल्यका ब्राण्डेड मदिरा र स्थानीय स्तरमा उत्पादन गरिने अवैध मदिरा(लोकल)को तस्करी बढेको भारतीय सुरक्षा अधिकारीहरुले पनि परोक्ष रुपमा स्वीकार्ने गरेका छन् । तर भारतीय क्षेत्रमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको छ । सीमावर्ती क्षेत्रमा तैनाथ रहेका सशस्त्र सीमा बल(एसएसबी) र बिहार प्रहरी, मदिरा नियन्त्रण विशेष फोर्सले चेकजाँचमा अत्यन्त कडाई गरेका छन् ।तरपनि सीमावर्ती क्षेत्रमा तस्करी रोकिएको छैन् ।

भारतबाटपनि दिनहुँ भारी परिमाणमा लागुऔषध सहित किरानाका समान, लत्ताकपडा लगायत अबैध रुपमा नेपाल भित्रिने गरेको छ । त्यसैगरि नेपालबाट अबैध रुपमा मदिरा, गाँजा लगायतका सामग्रीहरु भारत तर्फ तस्करी हुने गरेको छ ।भारतीय अधिकारीहरुको आग्रहमा सीमासित जोडिएको नेपाली भूभागमा समेत मदिराको बेचबिखन गर्न दिएको छैन् ।

चुनावको मुखमा भित्रिन थालेको मदिराले मतदाताहरुलाई प्रभावित गर्न सक्ने नेताहरुको विश्वास छ । सीमावर्ती सुरसण्डका पत्रकार राजु सोनीका अनुसार नेपालबाट अबैध रुपमा भारत भित्रिने मदिरालाई नियन्त्रण गर्न कडाई गरिएपनि रोकिएको छैन् ।सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुका लागि तस्करी भएर आउने मदिरालाई नियन्त्रण गर्नु ठूलो चुनौती भएको उनी बताउँछन् ।

Comment


Related News

Latest News

Trending News