अपडेट 
२०८० चैत्र २६, सोमबार ०६:५९

अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगञ्ज भन्सार कार्यालयको निरीक्षण गरेका छन् ।

कर राजश्वको ४० प्रतिशत हिस्सा ओगट्दै आएको वीरगञ्ज मुलुकको प्रमुख भन्सार नाका रहेको छ । निरीक्षणपछि भन्सार कार्यालयमा मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक राखेका थिए । बैठकमा अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगञ्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागिता रहेको थियो ।

मन्त्री पुनले चोरी पैठारी नियन्त्रण गरी राजश्व चुहावट नियन्त्रण गर्न सम्बद्ध अधिकारीलाई बैठकमा निर्देशन दिए । चौरी पैठारी नियन्त्रण गर्दा राम्रा र वैध बाटोबाट काम गर्ने व्यवसायीलाई फाइदा पुग्ने र खराब प्रवृत्तिकाहरु दण्डित हुने उनले बताए । चालु आर्थिक वर्षको ८ महिना सकिनै लाग्दा राजश्व संकलनको अवस्था उत्साहजनक नरहेको भन्दै मन्त्री पुनले सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गर्न र स्थानीयलाई विश्वासमा लिन कर्मचारीलाई निर्देशन दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आफू र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई मन्त्रालय र मातहत निकायबीच समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाएको राजश्व चुहावट नियन्त्रणबारे समन्वयमा काम गर्ने सहमति भएको उनले स्पष्ट पारे । भन्सारबाट हुने चोरी निकासी नियन्त्रण गर्दा उद्योगी व्यवसायीलाई त्यसबाट पुग्ने फाइदाबारे अवगत गराउन आग्रह गरे ।

सीमा क्षेत्रमा चोरी पैठारी रोक्न भन्सार कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि मिलेर सीमा क्षेत्रका सर्वसाधारणलाई रोजगारी दिने र जनचेतना अभिवृद्धि गर्न सकिने विकल्प मन्त्री पुनले सुझाव दिए । चोरी पैठारीबाट राज्यलाई राजश्व संकलनमा नोक्सान हुने मात्र नभइ त्यसबाट प्राप्त हुने इजी मनीले समाजमा अपराधलाई प्रोत्साहित गर्ने भएकाले आर्थिक र सामाजिक क्षति घटाउन जसरी पनि चोरी पैठारी नियन्त्रण गर्नै पर्नेमा मन्त्री पुनले जोड दिए ।

चोरी पैठारी नियन्त्रणमा काम गर्ने कर्मचारी, प्रहरी र सशस्त्र प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन मन्त्रालयका तर्फबाट गर्नु पर्ने काममा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरे । चुहावट नियन्त्रण समितिको बैठक पछि मन्त्री पुनले वीरगञ्ज भन्सार कार्यालय, भन्सार कार्यालय गौर, आन्तरिक राजश्व कार्यालय समिरा र वीरगञ्ज तथा वीरगञ्ज सुख्खा बन्दरगाहका कार्यालयका कर्मचारीलाई निर्देशन दिए ।

Comment


Related News

Latest News

Trending News