अपडेट 
२०८० चैत्र २६, सोमबार ०७:०५

सिरहा जिल्लामा दिनमै साढे १५ लाख रुपैयाँ लुटिएको छ । बैंकबाट मनी ट्रान्सफर कम्पनीले छुटाएको साढे १५ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।

सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिकाबाट नै हतियारधारी समूहले नगद लुटेर फरार भएका छन् । सदरमुकाममा रहेको ग्लोबल आईएमई बैंकबाट आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि रुपैयाँ छुटाएर लग्ने क्रममा लुटिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट मुस्किलले ५ सय मिटरको दुरीमा बिहान ११ बजे रुपैयाँ लुटेर हतियारधारी समूह फरार भएको हो ।

मनीट्रान्सफर कम्पनीका कर्मचारी पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका छन् । विष्णुरपुर गाउँपालिका १ बस्ने कुशेश्वर यादवले शिव मनी ट्रान्सफर सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रकम रहेको बताइएको छ । यादवले दिएका बयान अनुसार लुटेरामध्ये मोटरसाइकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रङ्गको कपडा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खाली चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजी कार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला डीएसपी सापकोटाले बताए । उनले थप विवरणहरू संकलन भइरहको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् । रकम लुटेर भाग्नेको खोजीका लागि सीमानाकामा रहेका प्रहरी चौकीहरुलाई सतर्क गराइएको उनले बताए ।

विगतमा पनि सिरहा जिल्लामा मनी ट्रान्सफरको रुपैयाँ लुटिएको घटनाहरु भएका छन् । तर त्यस घटनामा संलग्नहरु हालसम्म प्रहरीको पहुँच भन्दा बाहिर नै रहेको छ । सिरहा सदरमुकाम समेत भारतको जयनगरसित जोडिएको छ । मधेश प्रदेशमा सर्वाधिक तस्करी हुने जिल्लाहरु मध्ये सिरहा पनि पर्छ । लागूऔषध, सुन र लत्ताकपडाको तस्करीका लागि सिरहा जिल्ला कुख्यात छ ।

Comment


Related News

Latest News

Trending News