अपडेट 
२०८० चैत्र २७, मंगलवार ०६:५७

मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमवार दिनदहाडै छुरा प्रहार गरी एक जना युवकको हत्या गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा सोमबार दिउँसो करिब साढे १२ देखि १ बजेको समयमा छुरा प्रहारबाट प्रिन्सकुमार महासेठमाथि संघातिक आक्रमण भएको प्रहरीले जनाएको छ ।

महोत्तरीको एकडारा गाउँपालिकाका महासेठको छातिको बाँया भागमा छुरा प्रहार गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताएका छन् । घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको उनले बताए ।

प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक अवाले जनाएअनुसार घटनाबारे प्रहरीलाई सूचना आउनासाथ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको पहिचान भने खुलाइएको छैन । अहिले उनीहरुमाथि थप अनुसन्धान चलिरहेकोले नाम गोप्य राखिएको उनले बताए । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद भएको जनाइएको छ ।

हत्यामा संलग्न रहेकाहरु लागूऔषधको सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता अवाले बताए । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।

हत्याको कारणबारे अनुसन्धान भइरहेको बताउँदै प्रवक्ता अवाले भने, मृतक र घटनामा संलग्नहरुबीच आपसी विवाद घटनाको कारण हुन सक्छ । मृतकलाई हत्या गर्नेहरुले सडकसम्म लखेटेको उल्लेख गर्दै स्थानीय प्रत्यक्षदर्शीहरुले भने, सडकबाट भाग्दै कोठाको शौचालयमा लु्क्न लाग्दा छुरा प्रहार गरिएको थियो ।

छातीमा छुरा लाग्दा महासेठ शौचालयमा नै लडेका थिए । तत्कालै घटनास्थलमा पुगेका प्रहरीले महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल लगेको थियो । त्यहाँ चिकित्सकहरुले उपचार थालेको केही समयमै महासेठको मृत्यु भएको थियो ।

प्रहरीले घटना लगतै संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ । दिउँसै सडक सम्म लखेटेर लुकेको अवस्थामा छुरा प्रहार गरी हत्या गरिएको घटनाले उपमहानगरको वडा नम्बर ४ मा निकै बेर मानिसहरु त्रासमा रहेको स्थानीयहरुले बताए ।

Comment


Related News

Latest News

Trending News