अपडेट 
२०८० चैत्र २७, मंगलवार ०७:१२

मुख्यमन्त्री सरोजकुमार यादवले मधेशमा खानेपानी समस्या समाधानका लागि तत्कालीन तथा दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा सोमबार संघीय खानेपानी तथा ढल निकासी विभागद्वारा आयोजना गरिएको मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले तत्कालीन र दिर्घकालीन रणनीति अनुरुप खानेपानी समस्या समाधान गर्नुपर्ने बताए । मधेशको दक्षिण क्षेत्रको भुभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुख्खायाममा खानेपानीको हाहाकार हुँदै आएको बताउँदै मुख्यमन्त्री यादवले दुवै खाले योजनालाई अगाडि बढाउन संघीय सरकारलाई आग्रह गरे ।

संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको माध्यमबाट केही पानीलाई प्रशोधन गरी मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीतिको सराहाना गर्दै मुख्यमन्त्री यादवले भने, ‘योजना सराहनीय छ । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ । यो योजना पूरा हुन धेरै समय लाग्छ । तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ । हामी लाई सहयोग गर्नुस् । मधेशका चापाकलहरु अहिले नै सुकन थालेको छ । तत्कालीन योजनाका लागि संघ सरकारलाई आग्रह गर्दछु ।’

संघीय खानेपानी मन्त्री राजेन्द्र कुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा महिला, बालबिकास तथा समाजिक समितिका सभापति किरण साह, पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव, मधेश सरकारका उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंघासन सा कलवारलगायतका वक्ताहरुले मधेशमा खानेपानी आपूर्तिको अवस्था र अगामि रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए ।

सो गोष्ठिमा खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । यस परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैयाँ लागत अनुमान गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News