अपडेट 
२०८० चैत्र २८, बुधबार ०६:२८

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई बिनाशर्त रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि मंगलबार प्रदर्शन गरिएको छ ।

मेडिकल कलेजको प्रयोगशालाल्याब)मा म्याद गुज्रेका (डेट एक्सपायर) केमिकल प्रयोग गरेको अभियोगमा सोमबार पक्राउ परेका अन्सारी र साहलाई रिहा गर्नुपर्ने माग गर्दै कलेजका स्वास्थ्यकर्मी र कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।

पक्राउ परेका अन्सारी छातीमा समस्या भएको बताउँदै वीरगञ्जस्थित हेल्थकेयरको ५ नम्बर डिलक्स कोठा (केबिन)मा आराम गरिरहेका छन् । पक्राउ परे लगतै छाती दुखेको बताए पछि अन्सारीलाई नारायणी क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो । तर नारायणी अस्पतालले अन्सारीको उपचारका लागि रेफर गरेपछि हेल्थकेयरको डिलक्स केबिनमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार छाती दुखेको बताउँदै शाहनवाजले आफूलाई आफ्नै नेशनल मेडिकल कलेजमा लग्न आग्रह गरेका थिए । तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले अस्वीकार गरेपछि उनलाई प्रहरी टोलीले नारायणी अस्पतालको इमरजेन्सी सेवामा लगेको थियो ।

नारायणीमा खटिएका चिकित्सकले आइसियूमा भर्ना गर्नु पर्ने सुझाव दिएपछि परिवारको जोडबलमा गन्डकचोक स्थित हेल्थकेयर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका साहनवाजले छाती दुखेको बताएपछि आइसियूमा भर्ना गर्न रेफर गरेको नारायणी अस्पतालका चिकित्सक राजीव यादवले बताएका छन् । ‘विरामीको ब्लड प्रेसर बढेको छ, उनले छाती दुखेको भनेपछि रिक्स लिने कुरा हुँदै भएन ’ उनले भने, हामीसंग सुविधा सम्पन्न आइसियू खाली नभएकोले बाहिर लैजान रेफर गरिएको हो ।’ नारायणी अस्पतालको रेफरको आधारमा प्रहरी रेखदेखमा अन्सारीलाई सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएको पर्साका प्रहरी उपरीक्षक ढुंगेलले बताए । कानुनले दिएको प्रावधान अन्तर्गत सरकारी अस्पतालको रेफरको आधारमा अभियुक्तलाई थप उपचारको लागि अर्को अस्पतालमा पठाइएको उनले बताए ।

बीरगञ्ज हेल्थकेयरका सञ्चालक अबुलैस अन्सारीले नारायणी अस्पतालले आइसियूमा भर्ना गर्नुपर्ने जरुरी रहेको रेफरको आधारमा भर्ना गरिएको प्रतिक्रिया दिए । छाती दुखि रहेको बताएका अन्सारी मंगलबार दिनभरी अस्पतालको डिलक्स क्याबिनमा मोबाइल खेलाउनमा व्यस्त रहेको अस्पतालको एक कर्मचारीले बताए ।

प्रबन्ध निर्देशक अन्सारीको उपचार थुनुवा छल्न कानुनले दिएका प्रक्रियागत दुरुपयोग मात्रै भएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट २ दिनको म्याद थप गरेको छ । ल्याबमा म्याद गुज्रेको केमिकल फेला परेको यथार्थलाई कलेजले पनि स्वीकार गरेको छ । तर त्यो सामान्य अवस्था रहेको कलेजले दाबी गरेको छ ।

पर्सा प्रहरीले मन्त्रालयको आदेश अनुसार जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउन लागेपछि डाक्टर जैनुद्दिन अन्सारी आरपारको लडाइमा ओर्लेका छन् । नेशनल मेडिकल कलेजले जारी गरेको विज्ञप्तिमा प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गर्नु पूर्वाग्रह भएको उल्लेख गरिएको छ । ‘म्याद गुज्रेको केमिकलहरु ल्यावमा हुनु अनौठो होइन’ विज्ञप्तिमा भनिएको छ ,‘म्याद गुज्रेको केमिकललाई क्रमिक रुपमा नष्ट गरिने प्रक्रिया हो । म्याद गुज्रेको केमिकल राख्दा मेसिनले काम नगर्ने दाबी कलेजको रहेको छ ।

गत माघ महिनामा अस्पतालको सञ्चालकबाट हटाइएको आक्रोश बसरुद्दिन अन्सारीले कलेजको ल्याबमा छापामारी गराएर पोखेको बताइन्छ । बसरुद्दिन अन्सारी प्रबन्ध निर्देशक रहेकै बेलादेखि ल्याबमा म्याद गुज्रेका केमिकलहरु रहेको र त्यसलाई सुरक्षित रुपमा विसर्जन नगरेको जानकारी भएरै वीरगञ्ज महानगरपालिकाको उपमेयरलाई भनसुन गरी छापामारी गराइएको आरोप लगाइएको छ । बसरुद्दिन अन्सारीलाई अस्पतालको प्रबन्ध निर्देशकबाट हटाएर सहाबुद्दिन अन्सारीलाई एमडी बनाइएको छ ।

Comment


Related News

Latest News

Trending News