अपडेट 
२०८० चैत्र ३०, शुक्रबार ०७:२९

मधेश प्रदेशमा आगामी वैशाख २० देखि २९ गतेसम्म शहीद कप अन्तरप्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा शहीद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट संघ (क्यान)को सहकार्यमा हुन लागेको सो प्रतियोगितामा सात वटा प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी आठवटा टिमको सहभागिता हुने खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले जानकारी दिइन् ।

जनकपुरधमामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै खेलकुद तथा समाजकल्याण मन्त्री साहले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । उनले आगामी दिनमा खेलकुदको विकासका लागि थप बजेट विनियोजन गरिने समेत बताइन् । प्रतियोगिताको विजेता टिमलाई २ लाख ११ हजार नगद र ट्रफी र उपविजेता टिमलाई १ लाख १ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजक खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले बताए ।

निजी स्तरबाट २०७५ सालदेखि सुरु भएको उक्त प्रतियोगिता कोरोना कालमा स्थगित गरिएको थियो । मधेश प्रदेश सरकारले यसको अपनत्व लिएपछि तेस्रो पटक प्रतियोगिता हुन लागेको शहीद कप क्रिकेट कमिटीका संयोजक रोशन सिंहले जानकारी दिए ।

प्रतियोगितामा ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने यसमध्ये ३० लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने जनाएको छ भने बाँकी रुपैयाँ निजी स्तरबाट सहयोगस्वरुप आर्थिक संकलन गरिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News