अपडेट 
२०८१ बैशाख १, शनिबार १६:३६

प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज पनि मेला लागेको छ । सलहेशमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने गर्छन ।

नौ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर दक्षिण-पश्चिममा पर्दछ । यहाँ मेला भर्न श्रद्धालु अघिल्लै दिनदेखि आउने गर्दछन् ।

सहलेश मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको हो । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किंवदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गर्छन् ।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वास रहेको पुजारी धामीले बताए ।

नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News