अपडेट 
२०८१ बैशाख २, आईतवार ०६:५२

सिरहा जिल्लाको महिसोथा राजा सलहेसको फूलवारीमा हरेक वर्ष वैशाख १ गते फुल्ने सुनाखरी फूल यस वर्ष नफूल्दा दर्शनार्थीहरु निराश भएका छन् ।

लहान नगरपालिकाको वडा नम्बर १२ र २२ अवस्थित राजा सलहेसको फुलवारीमा हरेक वर्ष वैशाख १ गते ठूलो मेला लाग्ने गरेको छ । राजा सलहेसको संस्मरणमा हारमको रुखमा हरेक वर्ष माला आकारको सुनाखरी फूल फुल्दै आएको थियो । तर यस वर्ष सो रुखमा फूल फुलेन ।

फूल नफुल्नुको अनेक तर्कहरु मेलामा सुनिएको छ । वर्षमा एक दिन मात्र मेला लाग्ने सलहेस फूलवारीमा नेपाल र भारतबाट ठूलो संख्यामा दर्शनार्थीहरु आउने गरेका छन् । मेला भर्न आएका दर्शनार्थीहरुले रुखमा फूल नदेख्दा निराश भएका थिए । कतिपयले प्राकृतिक विपदा भन्दै चित्त बुझाइरहेका थिए । तर कतिपयले अशुभ हुन सक्ने संकेतको रुपमा लिएका छन् ।

विक्रम सम्वत शुभारम्भ भएको पहिलो दिन अर्थात वैशाख १ गते नै त्यहाँ हरेक वर्ष मेला लाग्ने गरेको छ । फूल नफुले पनि मेला भने लागेको थियो । सिरहा जिल्लाका वरिष्ठ पत्रकार देवकुमार यादवले फूल नफुल्नुको कारण यकिन नभएको बताए । ‘हरेक वर्ष वैशाख १ गते फुल्ने फूल यस वर्ष भने फुलेको छैन’ उनले भने, त्यसको कारण यकिन भइसकेको छैन । जलवायु परिवर्तनको असर फूलमा परेको हुन सक्ने उनले बताए । सलहेस फूलवारी मधेश प्रदेशको पर्यटकीय स्थलमा पर्छ ।

राजा सलहेसलाई दलितमा गनिने पासवान जातिले भगवान मान्छन् । राजा सलहेसले पासवानहरुलाई सम्मान दिएको मान्यता छ । राजा सलहेसलाई लोक देवता र लोकगाथाका पराक्रमी पुरुषको रुपमा पनि चिनिन्छ । सलहेसका तीनवटै रानीको मन्दिर रहेको स्थानमा रहेको हारमको बोटमा फूल नलाग्नुको कारण केहिले ‘मलेमास’( अधिक मास)लाई मान्छन् । मलेमास परेको कारण तिथि अनुसार फूल फुल्ने समय भइनसकेको सिरहाका प्रेमनाथ साहले बताए । ‘मलेमासको कारण महिना ढिला भएकोले फूल मध्य वैशाखमा फुल्ने छ’ उनले भने, फूलको टुसा पलाइसकेकाले तिथि अनुसारको समयमा फुल्नेछ । तर यस अघि फूल वैशाख १ गते नै फुल्ने गरेको उनले पनि बताए ।

नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले फूल नफुलेकोबाट दर्शनार्थीहरुमा निराशा देखिएको बताए । ‘फुलको पालुवा आइसकेकोले केही दिनमा हार जस्तो आकार देखिनेछ’ उनले भने, ‘सलहेस मेला हेर्न आउने दर्शनार्थीहरुले फुललाई हेर्नु नै प्राथमिकता ठान्छन् ।’ राज चौकीदारबाट राजा बनेका सलहेसले उत्पीडित, दलित, शोषितहरुको मुक्तिका लागि निरन्तर लडेको उनको गाथामा उल्लेख गरिएको छ ।

पासवान(दुसाध)जातिको वस्ती रहेको पालिकाहरुमा धुमधामसित सलहेस मेला आयोजन हुँदै आएको छ । तर दुसाध जातिसँगै हिन्दूहरुले राजा सलहेसको मन्दिर रहेको सलहेस फूलवारीमा पूजा गर्छन् । सलहेस फुलवारीको संरक्षणका लािग लहान नगरपालिका, मधेश प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन गर्दै आएको छ

। राजा सलहेससित जोडिएका अधिकांश स्थलहरु सिरहा जिल्लामा नै रहेका छन् । राजा सलहेसमाथि विभिन्न क्षेत्रका विज्ञहरुले अनुसन्धान गरेका छन् । कयौं पुस्तकहरु विभिन्न भाषामा प्रकाशित छन् । तर सरकारले अझै सलेहस फूलवारीलाई गम्भीरतापूर्वक लिएको छैन । पर्यटकका लागि सलहेस फूलवारी आकर्षक गन्तव्य बन्न सक्ने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि ‘भ्रमण’ बताउँछन् ।

Comment


Related News

Latest News

Trending News