अपडेट 
२०८१ बैशाख ३, सोमबार ०६:१३

मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाको उदासीनताको कारण चैती छठका व्रतालुहरुले प्रदुषित सिर्सिया नदीमा छठ पर्व मनाउन विवश भएका छन् ।

महानगरपालिकाको मेयरमा निर्वाचित भएका राजेशमान सिंहले पहिलो वर्षमै सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने घोषणा गर्दै उद्योगहरुलाई फोहर नदीमा नबगाउन चेतावनी दिएका थिए । तर दुई वर्ष बित्न केही दिन मात्र बाँकी रहँदा पनि सिर्सिया नदी प्रदूषणमुक्त हुन सकेको छैन । सिर्सिया नदीमा फोहर बनाउने मुहान जोडिएका उद्योगहरुलाई मेयर सिंहले बन्द गर्न कडा निर्देशन दिएका थिए । तर केही महिनामै ‘सेटिंग’मिलेपछि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने महानगरको अभियान ‘महागफ’ बनेको छैठका व्रतालुहरु बताउँछन् ।

व्रतालुहरुले प्रदूषित पानीमा नै चैती छठको अर्घ दिएको छ । सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउने वीरगञ्ज महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरू धोती लगाएका छन् ।

उद्योगीहरूको अटेरीले गर्दा सिर्सिया प्रदूषण मुक्त अभियान सबै र सधैको लागि एउटा नारा मात्रै साबित हुँदै आएको छ । झण्डै डेढ दशक देखि खोलालाई प्रदूषणमुक्त बनाउने प्रयास भइरहे पनि उद्योगीहरुसितको मिलेमतोमा मतदाता रिझाउने नारामा सीमित देखिएको उनीहरुको आरोप छ ।

पछिल्लो केही वर्षदेखि वीरगञ्जमा चैती छठप्रतिको आकर्षण बढ्दो छ । हरेक वर्ष व्रतालुहरुको संख्या थपिन थालिएको छ । तर सिर्सिया नदीको अवस्थामा कुनै परिवर्तन आएको छैन ।

सिर्सिया नदीमा विशाक्त पानी बगाउने उद्योगहरुलाई बन्द गर्न चेतावनी दिएका मेयर सिंहले केहीलाई प्रारम्भिक चरणमा जरिवाना पनि गरेका थिए । तर त्यो अभियान अभूतपूर्व ढंगले हरायो । आइतबार अस्ताउँदो सूर्यलाई व्रतालुहरूले दुर्गन्धित र प्रदूषित पानीमै बेलुकाको अर्घ दिएका छन् । विभिन्न उद्योगहरूले सिर्सिया नदीमा मिसाएको रासायनिक कालो लेदोसहितका प्रदूषित पानीका कारण महानगरवासी दुर्गन्धबाट वाक्कदिक्क भएको स्थानीयहरु बताउँछन् ।

वीरगञ्ज महानगरपालिकामा रहेको सिर्सिया नदीमा मात्रै २ दर्जनभन्दा बढी छठ घाट छन् । घडिअर्वा अन्य पोखरीले मात्रै व्रतालुहरूको चाप धान्दैन । कतिपय गाउँ तथा शहरका व्रतालुहरू सिर्सिया नदीलाई नै परम्परागत छठ घाटको रूपमा प्रयोग गर्दै आएका छन् । बारा पर्सा औद्योगिक करिडोरका उद्योगले खोलामा बगाएको रसायनयुक्त फोहोर फाल्ने काम बन्द नगरेपछि व्रतालु आक्रोशित बन्दै पुजाअर्चना गरेका छन् ।

खोलामा बगिरहेको कालो लेदो सहितको दुर्गन्धित पानीले गर्दा छठ घाटमा पुगेका व्रतालु र भक्तजनमा व्यापक आक्रोश देखिएको छ । खोलाबाट आउने दुर्गन्धले कतिपयले यस वर्ष त नाकै छोप्न बाध्य बनाएको गुनासो गरे । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पटक–पटक प्रयास गर्दा समेत प्रदेश र संघ सरकारको असहयोग र उद्योगीहरूको अटेरीका कारण नदी सफा हुन नसकेको महानगरको प्रतिकृया छ ।

स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रमा रहेर कारबाही गरे पनि संघ र प्रदेश सरकारले कुनै चासो नदिएकोले नदी सफाई अभियान असफल भएको महानगरले बताएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीबाट वीरगञ्ज महानगरपालिका हुँदै भारतसम्म पुगेको सिर्सिया नदीको प्रदूषणको समस्या नेपालको लागि मात्र नभइ सीमावर्ती भारतीयहरूका लागि पनि रहेको छ । भारतीय क्षेत्रमा पनि सिर्सिया नदीमा कार्तिक र चैतमा हुने छठ प्रभावित हुँदै आएको छ ।

छठ पर्व बसेकी श्रीमतीसँगै टाउकोमा पूजा सामग्री लिएर रानीघाटमा पुगेका वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोध गुप्ताले नदी प्रदुषण रोक्न सबैको पहलको आवश्यकता रहेको बताए । ‘छठ पर्वको बेला मात्र नभई सधैँको लागि नदी सफा हुनुपर्छ’ उनले भने, यसको लागि महानगरपालिका र प्रदेश तथा संघीय सरकार मिलेर ठोस कानुन ल्याए मात्र सम्भव हुन्छ ।’ नदी सफा गर्नको लागि उद्योगी मात्र नभई नेपाल सरकार, स्थानीय सरकार सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको गुप्ताले बताए ।

Comment


Related News

Latest News

Trending News