अपडेट 
२०८१ बैशाख ५, बुधबार १४:१३

भारतीय प्रहरीले छत्तीसगढमा २९ जना माओवादी (नक्सलवादी) मारिएको दाबी गरेको छ।

मंगलबार छत्तीसगढको कांकेरस्थित छोटाबेटिया क्षेत्रमा माओवादीसँग भिडन्त भएको र उक्त भिडन्तमा २९ जना माओवादी मारिएको त्यहाँको प्रहरीले दाबी गरेको छ।

छत्तीसगढको प्रहरीसँगको मुठभेडमा मारिने २९ जनामध्ये शंकर राव र ललिता माडवी डिविसी श्रेणीका नेता रहेका छन्। बिबिसीका अनुसार उनीहरूको जानकारी दिनेलाई २५/२५ लाखको इनाम दिइने घोषणासमेत गरिएको थियो।

मुठभेडपछि प्रहरीले २९ जनाको शव संकलन गरेको र त्यहाँबाट आधुनिक हातहतियार समेत बरामद गरेको बस्तरका आइजी सुन्दरराज पी ले बताएका छन्।

मुठभेडमा तीन जना प्रहरी घाइते भएको र उनीहरूको उपचार भइरहेको आइजी सुन्दरराजले बताएका छन्।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले यसलाई भारतीय प्रहरीको अहिलेसम्मको सफल कारबाही भनेका छन्।

उनले सुरक्षाकर्मीहरूलाई बधाई समेत दिएका छन्। नक्सलवाद  विकास, शान्ति र युवाहरूको उज्ज्वल भविष्यको सबैभन्दा ठूलो दुष्मन रहेको बताउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदी देशलाई नक्सलवादीबाट मुक्त गर्न प्रतिबद्ध रहेको बताएका छन्।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव सायले पनि यसलाई प्रहरीको ऐतिहासिक सफलता भनेका छन्। उनले माओवादीले लोकतन्त्रमा विश्वास नगर्ने र लोकतन्त्रको हरेक प्रक्रियालाई हिंसात्मक गतिविधिबाट प्रभावित पार्न खोज्ने भन्दै त्यसविरूद्ध प्रहरीले गरेको कारबाही सर्हानीय भएको बताएका छन्।

बस्तरमा १९ अप्रिलमा लोकसभाको मतदान हुँदैछ। यहाँ माओवादीले चुनाव बहिष्कार गरेको थियो।

यसअघि अप्रिल ३ मा छत्तीसगढको बिजापुरमा १३ जना माओवादी मारिएको थियो। त्यसपछि अप्रिल ६ मा तीन जना माओवादी मारिएको बिबिसीले जनाएको छ। यो वर्षमा मात्रै त्यहाँ ५० भन्दा बढी मारिएको बताइएको छ।

Comment


Related News

Latest News

Trending News