अपडेट 
२०८१ बैशाख १०, सोमबार ०७:४३

मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित मधेशका अन्य क्षेत्रमा तातो हावाले जनजीवन प्रभावित बनेको छ ।

यहाँ विगत एक सातादेखि दिनभर टन्टलापुर घाम र अत्यधिक तातो हावा समेत चल्न थालेसँगै जनजीवन प्रभावित बनेको छ । तातो हावाले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्किएका सर्वसाधारण र मोटरसाइकल चालक बढी प्रभावित भएका छन् ।

तातो हावा र टन्टलापुर घामका कारण अति आवश्यक काम परेर सडक, बजारमा निस्कनुपर्नेहरु प्रभावित बनेका छन् । विशेषगरि, मजदुरीमा निस्किएका मजदुर र खेतबारीको काम गर्नुपर्ने किसानहरूलाई चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै दूषित रहेकाले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सकहरुले धुलोसहित अत्यधिक तीव्र गतिमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम अत्यधिक हुने बताए । उनीहरुले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, अस्वस्थकर खानेकुरा नखान र स्वस्थ रहने उपाय अपनाउन सुझाव दिएका छन् ।

चिकित्सकहरुले गर्मी र तातो हावाका कारण मानिसमा टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्या बढ्ने बताए । यस्तो मौसममा बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको अझ बढी ख्याल गर्नुपर्ने उनीहरुको भनाइ छ । यस्तै तीव्र गतिमा तातो हावा चल्न थालेसँगै तरकारी, मकैलगायतका अन्य बालीनाली सुक्ने भन्दै किसान चिन्तित बनेका छन् ।

नगराइन नगरपालिका–५, गंगुलीका किसान मंगल विनले अत्यधिक तातो हावा चल्दा वर्णशङ्कर (हाइब्रिड) मकैबाली सुक्ने चिन्ता परेको बताए । तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक रहेकाले चुल्होमा खाना तथा कुँडो पकाएपछि आगो राम्रोसँग निभाउन, बालबालिकालाई आगोजन्य पदार्थ नदिन, चुरोट तथा बिँडी पिएर जथाभाबी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News