अपडेट 
२०८१ बैशाख १०, सोमबार ०७:४७

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताएका छन् । उनले अभाव भएको जनशक्ति थप्न कार्यालय व्यवस्थापन सर्वे (ओएण्डएम) गरिने जानकारी समेत दिए ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरमा अनुगमन, निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताए । प्रादेशिक अस्पताल जलेश्वरमा उपचार नगरी बिरामीहरूलाई जनकपुरधाम रेफर गर्ने गरिएको सञ्चारकर्मीहरूको प्रश्नमा उनले पर्याप्त जनशक्ति नभएका कारणले रेफर हुने गरेको बताए । उनले भने, ‘‘अस्पताल आराम गर्ने ठाउँ होइन, उपचार गर्ने ठाउँ भएकोले जहाँ उपचार सम्भव हुन्छ, त्यहाँ पठाउनुपर्छ ।’’ अस्पतालमा माइनर सर्जरी भइरहेको तर जनशक्ति तथा आइसियु अभावमा मेजर सर्जरी हुन नसकेको बताउदै उनले अस्पतालमा आइसियु भए पनि जनशक्ति अभावमा सुरु हुन नसकेकाले प्लानिङ्ग गरी मेजर सर्जरी र आइसियु सेवा सञ्चालन गरिने बताए ।

जनशक्ति, स्वास्थ्य उपकरण, सेवा प्रवाहको विषयमा आफूले जानकारी प्राप्त गरेको जानकारी दिदै अस्पतालमा सहज तथा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यकता अनुसारको जनशक्ति उपलब्ध नभएको स्विकारे ।

उनले अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको संख्यामा बढोत्तरी भएकाले सोही अनुसार जनशक्ति उपलब्ध गराउन प्रदेश सरकार र सङ्घीय सरकार तयारी गरिरहेको जानकारी दिए । चाँडै नै तपाईँहरूले अस्पतालहरूमा सुधार भइरहेको समाचारहरू सुन्न सक्नुहुने बत्ताउदै उनले एम्बुलेन्सको समस्या पनि समाधान हुने विश्वास दिलाए ।

त्यसैगरी अस्पतालको निरीक्षणमा आएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले जनशक्ति अभावमा प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको बताउदै समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको जानकारी दिए ।

प्रादेशिक अस्पताल जलेश्वरमा तीन वर्षदेखि पाँच शैय्याको आइसियु सेवा, हेमोडायलायसिस सेवा, ब्लड बैङ्क, एसएनसियु लगायतका सेवाहरू जनशक्ति अभावमा सुचारु हुन सकेको छैन । अस्पतालको सेवा प्रवाहबारेमा प्रादेशिक अस्पतालका प्रमुख डा.राजीव कुमार झा तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झाले अवगत गराएका थिए ।

सो अवसरमा मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह, पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, पूर्व कृषि मन्त्री हरिनारायण यादवलगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News