अपडेट 
२०८१ बैशाख १२, बुधबार ०६:१८

करिब चार वर्षअघि आफ्नै श्रीमानद्वारा एसिड छ्यापिएकी एसिडपीडित आरती साहको नागरिकता नहुँदा जागिर गुमेको छ ।

नागरिकता नहुँदा मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयमा पाएको जागिर गुमाउनु परेको उनले बताइन् । “प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो कार्यालयमा जागिर दिने आश्वासन दिए पनि मेरो नागरिकता नभएका कारण जागिरबाट वञ्चित भएको छु” उनले भनिन् ।

जनकपुरधाम उपमहानगरपालिका –६ स्थित पेठिया बजारनजिक बस्दै आएकी एसिड पीडित साहलाई मधेश प्रदेश सरकारका निवर्तमान न्यायाधिवक्ता झाले आफ्नो कार्यालयमा कार्यालय सहयोगीको रूपमा जागिर र त्यहाँ बस्न क्वाटरको व्यवस्था समेत गर्ने भने पनि उनीसँग नागरिकता नहुँदा जागिरबाट वञ्चित हुनु परेको उनले गुनासो गरिन् । “म बाँच्नुको मुख्य कारण मेरी छोरी हो, तरकारी बेचेरै भए पनि छोरीलाई राम्रो शिक्षा दिने प्रयासमा लागेकी छु । आफूले पढ्न नसकेका कारण दुःख पाइरहेकी छु, त्यसरी मेरी छोरीलाई भोग्नु नपरोस् भन्ने मेरो सोच हो” उनले भनिन् । नागरिकताका लागि यसअघि प्रमुख जिल्ला अधिकारीले समेत पहल गरिदिए पनि घरका सदस्यको सहयोग नभएपछि प्राप्त नभएको उनले गुनासो गरिन् । ससुराली पक्षका सदस्यको आलटालका कारण मेरो नागरिकता र छोरीको जन्मदर्ता बनेन उनले भनिन्, “ससुराली पक्षबाट बारम्बार दबाब र धम्की आइरहेको छ ।”

यता जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले पीडितलाई थप पीडा नहोस् भनेर आरतीका लागि नागरिकता बनाउन पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “धनुषामा भर्खर आए पनि मैले आरतीको लागि सहज वातावरण बनाउने प्रयास गरिरहेको छु ।”

आरतीका श्रीमान् धनुषाको सबैला नगरपालिकाका सञ्जीव साह सोनारले २०७७ कात्तिक २९ गते एसिड प्रहार गरेपछि मृत्युको मुखमा पुगेका थिए । करिब तीन महिनाको उपचार र पाँच पटकको शल्यक्रियापछि आरतीले नयाँ जीवन पाएकी छन् । साहलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

एसिड घटनापछि आरतीका श्रीमान् सञ्जीवलाई जेल चलान गरिएको थियो । आरतीको ससुराली पक्ष बाहेक सबैले उनलाई साथ दिएको उनले बताइन् । प्रहरी प्रशासनले पनि आरतीलाई सहयोग गरेको उनको भनाइ छ । नागरिकता र छोरीको जन्मदर्ता बन्ने पर्खाइमा आफू रहेको उनले बताइन् ।

Comment


Related News

Latest News

Trending News