अपडेट 
२०८१ बैशाख १४, शुक्रबार ०६:२७

नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलम दाजुभाई सहित चार जनालाई जन्मकैदको सजाय सुनाइएको छ । एकजनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत रौतहटको इजलास नम्बर १ बाट भएको फैसलामा मोहम्मद अफताव आलम, उनका भाई महताव आलम, मुक्ती साह र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको छ । शेख सेराजलाई भने सफाइ दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य र सांसद रहेको बेला २०७६ साल असोज २६ गते आलमलाई पक्राउ गरिएको थियो । राजपुर बम बिस्फोटन सम्बन्धी घटनामा १७ बर्ष पछि जिल्ला अदालत रौतहटबाट बिहीबार आलम सहित चार जनालाई जन्म कैदको फैसला सुनाएको छ । जिल्ला अदालतका एक नम्वर इजलाशका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले साँझ फैसला सुनाएको छ ।

गत सोमवारदेखि पक्ष र विपक्षबाट सुरु भएको बहस बिहीबार दिउँसो सकिएको थियो । बादी पक्षबाट तीन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जना वकिलले बहस गरेको रौतहट जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढुंगानाले जानकारी दिए । बहस सकेपछि आलम, उनका भाई महताव आलम, साह र सहनीलाई जन्म कैद र सेराजलाई सफाइ दिइएको तथा फरार रहेका ६ जनालाई मुल्तवीमा राखिएको फैसला भएको उनले बताए ।

कांग्रेसका नेता आलम र उनका भाई महताव आलम सहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते अदालतमा मुद्दा दायर गरिएको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दाको फैसला चार वर्षपछि आएको छ । वादी पक्षबाट सरकारी वकिल कार्यालयका पुष्पराज पौडेल, वद्री कार्की र दयानिधि रिजालले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता एवं पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश मोहम्मद साविर हुसेन, बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, अजय पटेल, अफताव आलम, यदुनाथ खनाल, मजरुल हक, लालबाबु यादव र अनन्त अधिकारीले प्रतिवादीहरुको तर्फबाट बहस गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहट जिल्लाको राजापुरमा बम विस्फोट भएको थियो ।त्यस विष्फोटमा घाइते भएकाहरुलाई पोल खुल्ने डरले जिउँदै इँटा भट्टामा हालेर जलाएको आरोप वादी पक्षले लगाएर मुद्दा दर्ता गराएका थिए । तर मुद्दाको अन्तिम किनारा लगाउन पटक पटक पेशी सर्दै आएको थियो ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोट भएपछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप आलममाथि लागेको थियो । तत्कालीन अवस्थामा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमविरूद्ध प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा चलाएको थियो । बम बिष्फोटपछि भएको चुनावमा आलम निर्वाचित भएका थिए ।

सो घटनालाई ढाकछोप गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी र सशस्त्र प्रहरीका एसपीले सघाएको समेत आरोप लागेको थियो । बिष्फोट भएको १२ वर्षपछि अदालतमा दर्ता भएको मुद्दाको फैसला झण्डै ५ वर्षपछि भएको छ । घटनामा अधिकांश भारतीय नागरिक सहित केही स्थानीयको ज्यान गएको थियो । घाइतेहरुलाई ट्रयाक्टरमा लोड गरी ईट्टा भट्ठाको गोलमा हालिएको थियो । घटनाका पीडित र साक्षी समेतको हत्या भएको थियो । मुद्दा गर्ने र साक्षी भएकाको समेत हत्या गरी मुद्दालाई कमजोर बनाउने प्रयास गरिएको थियो । आलमलाई पक्राउ गरिएको बिरुद्ध कांग्रेसले सदरमुकाम गौरमा सशक्त प्रदर्शन गरेका थिए ।

रौतहट जिल्लामा आलमको राजनीतिक सम्राज्यको अन्त्य भएको छ । पछिल्लो पटक भएको स्थानीय चुनावमा आलमका छोरा मेयरमा पराजित भएका थिए । आलमले छोरालाई राजनीतिमा ल्याएका छन् । नेता आलम अहिले केन्द्रीय कारागारको थुनुवा कक्षमा कैदीबन्दी सरह जीवन व्यतीत गर्दै आएका छन् । सर्वोच्च अदालतले बुधवार गौरको चर्चित हत्याकाण्डमा कारण देखाउ आदेश जारी गरेको थियो ।

जिल्ला अदालतको फैसलाले ढिलैभए पनि न्याय भएको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News