अपडेट 
२०८१ बैशाख १४, शुक्रबार ०६:३३

धनुषाको औरही गाउँपालिकामा स्थानीय र प्रहरीबीच बिहीबार झडप भएको छ ।

सडक अवरुद्ध गरेका स्थानीयबासिन्दाहरुलाई हटाउन प्रहरीले नौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । औरही गाउँपालिकाको वडा नम्बर १ को पौडेश्वरमा सडक बन्द गरी टायर बालेर स्थानीय बासिन्दाहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि झडप भएको हो ।

स्थानीय र प्रहरीबीच भएको झडपमा तीन जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डीएसपी रञ्जन अवाले जनाएका छन् । तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिनका लागि धनुषा प्रहरीले नौ राउण्ड अश्रुग्यासको गोला प्रहार गरेको उनले बताए । उनले सात राउण्ड सशस्त्र प्रहरी र दुई राउण्ड नेपाल प्रहरीले अश्रुग्यास चलाएको पुष्टि गरे ।

गत वैशाख ४ गते पौडेश्वारका दुई जना किशोरीलाई अपहरण गरेको जनाउ जिल्ला प्रहरी कार्यालयलाई दिए पनि घटनाको १० दिन बितिसक्दा समेत प्रहरीले खोजतलाशमा चासो नदेखाएको आरोप स्थानीय बासिन्दाहरुले लगाएका छन् । अपहरणमा परेको भनिएको पीडितका अभिभावकहरुले दिएको उजुरीको आधारमा प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको डीएसपी आवाले बताए ।

तर स्थानीय बासिन्दाहरुले प्रहरीले चासो नदेखाएको आरोप लगाए । आवाका अनुसार छोरी अपहरित भएको पीडित परिवारले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीले प्रहरीको गाडीमा तोडफोड समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अपहरितहरु मध्ये एकजना १४ वर्षीया र १जना १६ वर्षीया रहेको बताइएको छ ।

गाडीमा तोडफोड गर्ने र प्रहरीमाथि ढुंगामुडा गरेको आरोपमा ५ जना लाई नियन्त्रणमा लिएको डीएसपी आवाले बताए । दुई परिवारका दुई नाबालिका अपरिहत भएको भन्दै पीडितहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको थियो । नाबालिक किशोरीका परिवारहरुले अपहरण, शरीर बन्धक लगायतका अभियोगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिरहेका छन् ।

तर जिल्ला प्रहरी कार्यालय धनुषाले हाल सम्म मुद्दा समेत दर्ता नगरेको आरोप स्थानीयहरुको छ । दुई जना नाबालिगलाई हंसपुर नगरपालिका–४ का शाजिद नदाफ र मोफिद नदाफले गत वैशाख ४ गते भगाएर लगेका छन् ।

प्रहरीले शाजिद नदाफको बुवा आमा, मोफिद नदाफका काका र युवतीहरु भगाउन सहयोग गर्ने दुई जनासहित पाँच जनालाई पक्राउ गरेको छ । घटना भएदेखि नै पौडेश्वर र हँसपुर नगरपालिकाको नरहियाबीच तनाव उत्पन्न भएको छ ।

Comment


Related News

Latest News

Trending News