अपडेट 
२०८१ बैशाख १७, सोमबार १७:५९

सिरहामा हराइरहेकी तीन वर्षीया बालिकाको हत्या भएको खुलेको छ।

सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

उक्त घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन्। खोजतलास गर्दै जाने क्रममा १४ गते राति साढे ११ बजेतिर रमेशको घरभन्दा उत्तरपट्टी संगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो।

‘छत माथि जाने भर्‍याङको चौतरामा रहेको मुसुरको झङ्टा भित्र प्लाष्टिकको बोरा भित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो,’ डिएसपी सापकोटाले भने। उनका अनुसार करिब एक वर्षदखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको थियो। सोही कुराको रिसइबी राखेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेका थिए। त्यसै क्रममा गत वैशाख १२ गते रिया खेल्दै धनिकलालको घरमा पुगेकी थिइन्।

‘ललाई फकाई बालिकालाई धनिकलालको परिवारका सदस्यले घरभित्र लगेछन्। बिस्कुट किनेर ल्याएर उनलाई खुवाए पनि। खुवाइसकेपछि घाँटी थिचेर कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी सापकोटाले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News