अपडेट 
२०८१ बैशाख १८, मंगलवार ०६:४६

बालविवाह रोक्न सामूहिक प्रयासको खाँचो रहेको सरोकारवालाले बताएका छन् ।

बालविवाह विरुद्धको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले उक्त आवश्यकता माथि जोड दिएका छन् । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख १७ गतेका दिनलाई बालविवाह विरुद्धको दिवस मनाउन गरेको निर्णयबमोजिम प्रदेशको राजधानीसहित प्रदेशका पालिकामा विभिन्नखालका कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयले बालविवाहविरुद्धको दिवसको अवसरमा जनकपुरधाममा कार्यक्रम आयोजित कार्यक्रममा सहभागीहरुले मधेश प्रदेशमा बालविवाह समाजको साझा समस्या भएकाले अन्त्यका लागि संयुक्त प्रयासमाथि जोड दिए । एक तथ्यांक अनुसार मधेश प्रदेशमा १५ वर्षअगावै विवाह गर्नेको संख्या ८.९ प्रतिशत, १८ वर्षअगावै विवाह गर्नेको संख्या २९.३ र १५ देखि १९ वर्ष उमेर समूहमा विवाह गर्नेको संख्या १५.२ प्रतिशत रहेको छ ।

कार्यक्रममा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि तार्किक कार्य ढाँचासहितको १० वर्षे रणनीतिक योजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको बताए । महिला बालबालिका तथा सामाजिक न्याय समिति मधेश प्रदेशका सभापति रुपा यादवले अभिभावकको कमजोरीका कारण बालविवाहका घटना बढदैगएको भन्दै अभिभावकले आफ्नो छोराछोरीलाई शिक्षादीक्षा दिनमा कुनै किसिमको कन्जुस्याइँ गर्न नहुने बताए ।

नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गरिरहेको भन्दै बालबालिकालाई शिक्षित बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

सुरुंगा नगरपालिकाका नगर प्रमुख गीता चौधरीले आफ्नो नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्नेक्रममा भएका चुनौती बारेमा सहभागीलाई जानकारी गराएकी थिइन् । प्रदेशको आठवटै जिल्लाबाट बालबालिकाको सहभागिता रहेको थियो ।

Comment


Related News