अपडेट 
२०८१ बैशाख १८, मंगलवार २१:०७

सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ  ।

गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको बताए।

आगो निभाउने प्रयास भइरहेको छ । यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन्  ।

आगलागी अहिले पनि भइरहेकोले  थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ  ।  उक्त आगलागीमा करिब ६०-७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

Comment


Related News

Latest News

Trending News