अपडेट 
२०८१ बैशाख १९, बुधबार ०७:५७

सप्तरी जिल्लाको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा मंगलवार भएको भीषण आगलागीले २ सय घर जलेर खरानी भएको छ ।

महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले जनाए अनुसार चिम्टि टोलमा दिउँसो ३ बजे तिर हावाहुरी चलेको बेला आगलागी हुँदा २ सय घर जलेर खरानी भएको छ । आगलागीले चिम्टीको मुसहरी र यादव वस्तीमा भारी क्षति पुगेको छ । स्थानीय शत्रुघन यादवको गाइगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगोले २ सय घर जलेको अध्यक्ष मण्डलले बताए । ‘समयमा नियन्त्रणको उपाय हुन नसक्दा ६७ परिवारको २ सय घर खरानी भएको हो ’ उनले भने, दिनभरिको प्रचण्ड गर्मी र दिउँसो चलेको हावाहुरीको बेला भएको आगलागीले केही समयमै ठूलो क्षति भयो । आगलागीलाई नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी, शम्भुनाथ नगरपालिकाको वारुण यन्त्रका साथै प्रहरी , नेपाली सेना, सशस्त्र प्रहरी लगायत स्थानीयवासीहरु जुटेका थिए ।

शत्रुघन यादवका साथै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदालगायत ६७ परिवारको घर खरानी भएको प्रहरीले जनाएको छ । दुई करोड भन्दा बढीको धनमाल जलेको सप्तरी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले जनाएका छन् । आगलगीबाट अधिकांश टिनका छाना भएका तथा खरको छानो भएको र काठबाट बनेका घरहरु जलेका छन् ।

आगलागीमा २ दर्जन चौपाया, ट्रयाक्टर, थ्रेसर समेत जलेको प्रहरीले जनाएको छ । आगलागीमा २ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि ४ घण्टाको प्रयासले समेत आगलागी पूर्ण नियन्त्रणमा लिन झण्डै ४ घण्टा लागेको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलनमा केही समय लाग्ने एसपी गजुसिद्धीले जनाएका छन् ।

आगलागीमा घर जलेका पीडितहरु खुल्ला आकाश मुनी खेतमा बसिरहेका छन् । अधिकांशको अन्न, बाली, लत्ताकपडा जलेकाले ठूलो पीडा भएको छ । पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन पालिका लगायत विभिन्न निकायहरुलाई आव्हान गरिएको छ । यसअघि सप्तरीको कंचनरुप नगरपालिका– ५ स्थित पडेरामामा वैशाख ९ गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएको थियो ।

Comment


Related News

Latest News

Trending News