उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ७५औँ बैठकमा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका उपप्रधानमन्त्री यादवले आज राष्ट्रसङ्घको ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।
उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गरेका थिए । उनले शान्ति, समृद्धि र दिगो विकासका निम्ति अध्यक्ष फ्रान्सिसले अगाडि बढाएका प्राथमिकताप्रति नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।