अपडेट 
२०८१ बैशाख २०, बिहीबार ०६:३२

अत्याधिक गर्मीसँगै विभिन्न पालिकाको अधिकांश ठाउँमा रहेका चापाकलबाट पानी आउन बन्द भएको छ । पानीको सतह कम हुँदै गएकाले तराईका जिल्लाहरुमा अहिले पानीको समस्या हुन थालेको स्थानीयहरु बताउँछन् ।

धनुषा जिल्लाको कमला नदी बाहेक जलाद, जमुनी, औरही, रातो, भालु लगायतका नदी एक डेढ महिना अगाडिदेखि पानी सुकेको छ । यसैगरी सार्वजनिक पोखरी पनि सुकेको छ, माछा पालन गर्ने पोखरीको पानी सुक्न थालेपछि दिनरात मोटरको सहयोगले पानी भर्ने कार्य जारी रहेको जनकपुरधाम उप– महानगरपालिका–७ का स्थानीय बैद्यनाथ साहले बताए ।

यसैगरी मिथिला नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका चापाकलबाट पानी आउन बन्द भएपछि विद्युतीय मोटरसमेत जलेको स्थानीयहरु बताउँछन् । उनीहरुले भने–‘चार फिटको चापाकलमा जे जति पानी आए पनि त्यो भन्दा कम लेयर रहेको चापाकलबाट पानी आउन बन्द भएको छ । यसरी पानी आउन बन्द भए पनि जानकारी बिना बिद्युतीय मोटर चलाउँदा कति जनाको मोटर नै जलेको बताए ।

कलैया उप–महानगरपालिका–२२ को भोड्हा, मटिअरिया, मदिलवा टोलमा पानीको सतह कम भएपछि त्यहाँका चापाकलमा अहिले प्रेशर बढी हुने गरेको छ । पहिलाको अपेक्षामा चार भागको एक भाग मात्र पानी आउने गरेको स्थानीय पुरोहित रामअयोध्या मिश्राले जानकारी दिए । यसैगरी सोही पालिकाको कलैया टोल, भवानीपुर, ब्रहम्पुरी, औधापुर, उत्तरझिटकैया, मझौलिया, श्रीपुर, बकुलहर, कवलपुर, मनहर्वा, सखुई, बिजुलपुर, सिसवामहेशपुर, गंगापुर, भतौडा, कोईरिया टोला, सिसहनिया, पतौरा, पचायनपुर टोलमा चापाकलबाट पानी आउन कम भएपछि सहज रुपमा लुगाधुन तथा नुहाईधुवाई गर्न अहिले समस्या भएको स्थानीयहरु बताउँछन् ।

यसैगरी बढ्दै गएको गर्मी र पानी नपरेको कारण चापाकल सुक्नुको साथै नदी, पोखरीको पानी सुकेकाले गाई, भैसीलाईसमेत पानी खान समस्या हुँदै आएको छ । मौसमी बर्षा बाहेक अन्य समयमा अकाशे पानी नपर्दा यसरी पानीको मुहान सुक्नुको साथै चापाकल, नदी र तलावमा पानी कम हुनजान्छ, पानी परेपछि सुकेका सबै ठाउँमा फेरि पहिलाकै जस्तो पानी आउन सुरु हुने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्साका प्रमुख विकास ठाकुरले बताए ।

जाडोयाममा पानीको सतह जमिन माथिसम्म रहेकाले चापाकल, इनार, पोखरी र नदी तलावमा प्रयाप्त मात्रामा पानी रहन्छ, गर्मीयाममा पानीको सतह जमिन मुनी जाने भएकाले सहज रुपमा पानी नभेटिने गरेको तथा मौसम परिर्वतनको कारण यस्तो हुने गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News