अपडेट 
२०८१ बैशाख २४, सोमबार ०७:२८

मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवद्र्धन, यसप्रति किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि दि नेपाल डिस्टिलरिजले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ ।

दि नेपाल डिस्टिलरिजको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा धनुषामा उखु खेती प्रवद्र्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सीप, क्षमता तथा आय अभिवृद्धि सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।

नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवद्र्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषा जिल्लाका अगुवा किसानहरूलाई उखु खेती प्रर्वद्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम नेपाल डिस्टिलरिजले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा आयोजक द नेपाल डिस्टिलरिज प्रा.लि.का प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरूलाई एकै ठाउँमा राखेर बुझाइएको र खेतीको विस्तार, प्रवद्र्धन एवम् संरक्षण गर्न आफूहरूले यो कार्यक्रम गरेको प्रस्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षौँदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बीउ नपाउने लगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने तथा उखु खेतीको विकास गर्न मधेशका आठ वटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरूको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेश प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञानकेन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए । कार्यक्रममा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेश प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावना बारे प्रस्तुतीकरण दिएका थिए ।

उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदिमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिट लगायतका पेय पदार्थ बनाउन सकिने प्रस्ट्याए । कार्यक्रममा पूर्व कृषि सचिव एवम् नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका अध्यक्ष डा.योगेन्द्रकुमार कार्की, काउन्सिलका कार्यक्रम संयोजक नारायण श्रेष्ठ, महेन्द्र पन्त, दिलराज यादव, रामकृष्ण रजक र अनिसुर रहमान अन्सारी लगायतले बोलेका थिए ।

Comment


Related News

Latest News

Trending News