अपडेट 
२०८१ जेष्ठ १, मंगलवार ०७:०९

मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका लागि दौडधुप तीव्र भएको छ ।

जनता समाजवादी पार्टी( जसपा)नेपाललाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले र माओवादी केन्द्रले सरकारबाट केही महिना पूर्व नै अलग भएका जनमत पार्टी र गत ४ गते अलग्गिएको लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)सित संयुक्त बैठक गरेका थिए ।

सो बैठकपछि सार्वजनिक भएको तस्बीरमा एमाले, माओवादी, लोसपा र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति जुटेको सन्देश थियो । तर तत्कालै लोसपाको केन्द्रीय र प्रदेश समितिले कुनै गठबन्धन नभएको र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको धारणा सार्वजनिक गरेको थियो ।

मधेश प्रदेशमा सरकारलाई जोगाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसित सोमवार उनकै निवासमा पुगेर आग्रह गरेका थिए । तर ठाकुरले सकारात्मक जवाफ नदिए पनि मधेश प्रदेशमा मधेश केन्द्रित दलकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएको ठाकुर निकट नेताहरुले जनाएका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले सरकारलाई निरन्तरता दिन, प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादव, एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्र संसदीय दलका नेता भरत साह सरकारको नेतृत्व पाउन दौडधुपमा छन् । मधेश प्रदेश संसदीय दललाई गठबन्धन गर्ने अधिकार केन्द्रले दिएको छैन् ।

केन्द्रमा शीर्ष नेताहरुले गर्ने तालमेलकै आधारमा प्रदेशमा सत्ता समीकरण निर्माण हुँदै आएको छ । प्रदेशमा संसदीय दलको बैठक भए पनि केन्द्रीय निर्देशन अनुसार नै निर्णय हुने गरेको छ । माओवादी दलका नेता भरत साहले भारतको सुरसण्डमा बनेको गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेकाले सोही अनुसारको गठबन्धन हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

राजनीतिक परि स्थिति फेरिएकाले ठूलो दलको हैसियतमा एमालेले मुख्यमन्त्री पाउनुपर्ने दलका नेता सरोज यादवको दाबी छ । मधेश प्रदेशमा मधेश केन्द्रित दलको नेतृत्वमा सरकार बन्नुपर्ने र आफ्नो बटमलाईन नै मुख्यमन्त्री रहेको जनमत पार्टीको अडान कायमै छ । लोसपा र नेकपा एसले मुख्यमन्त्रीमा दावी गरेका छैनन् । तर सरकार गठनमा लोसपा र नेकपा एसको भूमिका महत्वपूर्ण छ । लोसपाले जसपा नेपाललाई साथ दिए यादव नेतृत्वको सरकारले निरन्तरता पाउने छ ।

Comment


Related News

Latest News

Trending News