अपडेट 
२०८१ जेष्ठ १, मंगलवार १६:४१

सप्तरीको नेपाल बैंक लिमिटेड फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या प्रकरणमा मृतक र पक्राउ परेका व्यक्ति आफन्त रहेको खुलेको छ।

गत बिहीबार उक्त बैंकमा कार्यरत ५५ वर्षीय पर्शुराम फुयाँलको हत्या भएको थियो । हत्या गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई पक्राउ गरेको छ। सप्तरी जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेकोबारे आइतबार सार्वजनिक गरेको थियो।

डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार मृतक फुयाँल र सुवेदी नातेदार रहेको खुलेको छ। शनिबार सुवेदीलाई प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नम्बर १ लोथरबाट पक्राउ गरेको थियो।  पक्राउ गर्नको लागि प्रहरीको टोली सप्तकोशीस्थित घरमा समेत पुगेको थियो। त्यसक्रममा प्रहरीले चन्द्रबहादुरका बुवालाई भेटेका थिए। त्यसपछि आरोपित व्यक्ति आफन्त रहेको खुलेको हो।

‘प्रहरी जाँदा आरोपीका बुवालाई भेटेका रहेछन्। ती बुवालाई पनि आफ्ना छोराले हत्या गरेको भन्ने थाहा रहेनछ,’ न्यौपानेले भने, ‘तर उनले प्रहरीसँग आफ्ना सम्धीको हत्या भएको रहेछ भर्खरै पुगेर आएको जस्तो कुरा गरेका थिए। त्यसपछि नातेदार रहेको भन्ने खुलेको हो।’

यसरी नातेदार रहेको खुले पनि आरोपी सुवेदीले भने फुयाँललाई चिन्दैन थिए। डिएसपी न्यौपानेले भने, ‘एक पुस्ताले चिनेको भएपनि अर्को पुस्ताले खासै नचिन्ने रहेछ। आरोपीलाई पनि त्यसबारे थाहा रहेनछ।’

मृतक फुयाँल कान्तिपुर सेक्युरिटिजबाट विगत ८ वर्षयता त्यही बैंकमा कार्यरत थिए। नेपाली सेनामा काम गरेका उनले पेन्सन पाकेपछि छाडेका थिए। करिब ३ वर्ष उनले दुबई बसेर समेत काम गरेको खुलेको हो।

त्यस्तै पक्राउ परेका आरोपी चन्द्रबहादुर सुवेदी पनि सशस्त्र प्रहरीका पूर्व जवान हुन्। उनी २०७० सालमा सशस्त्रको प्रहरी जवान भएर काम गरेको र २०७९ पुसमा राजीनामा स्वीकृत भएको थियो।

चन्द्रबहादुरले आर्थिक अवस्था कमजोर भएकाले बैंक लुट्न जाने योजना बनाएको प्रहरीसमक्ष बताएका थिए। उनको २४/२५ लाख ऋण तिर्न बाँकी रहेको र उक्त ऋण चुक्ता गर्न नकसेपछि बैंक लुट्ने योजना बनाएका हुन्।

त्यसबाहेक अन्य कारण नखुलेको प्रहरीको भनाइ छ। बैंक लुट्न जानु पाँच दिन अघि मात्रै पनि उनले रेकी गरेको सिसिटिभी फुटेजमा देखा परेको थियो। ‘लुट्न जाने भन्ने हिसाबले बैंकमा प्रवेश गरेको देखियो। उनी शौचालयको भेन्टिलेटरबाट भित्र छिरेका रहेछन्,’ न्यौपानेले भनेका थिए।

करिब राति साढे १२ बजेतिर उनी बैंकमा प्रवेश गरेका थिए। लुटपाटका लागि उनले आफूसँग हेक्साब्लेड, रेन्चु, पिलास, डोरी, रड र खुकुरी बोकेका थिए।

त्यही सामग्रीको प्रयोग गरी बैंकमा रहेको एउटा ताला फोड्न भ्याएका थिए। यद्यपि दोस्रो तहको ताला भने फोड्न सकेनन्। त्यसो नसकेपछि उनी सुरक्षा गार्ड फुयाँलको कोठामा प्रवेश गरे। त्यहाँ गार्डसँग रहेको चाबी लिन खोज्दा उठेपछि उनले खुकुरी प्रहार गरेका थिए।

प्रहरीले उनीबाट घटनामा प्रयोग भएको खुकुरी, उनले बोकेको झोला, त्यसबेला लगाएका कपडा, लुट्न प्रयोग गरिएका सामान र काठ बरामद गरेको छ। पक्राउ गरेपछि उनले लुकाएका सामानको खोजी गरिएको थियो।

कतिपय सामान उनकै घरबाट बरामद भएको थियो।

Comment


Related News

Latest News

Trending News