अपडेट 
२०८१ जेष्ठ २, बुधबार ०७:४०

आदर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ ।

पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च र समय उस्तै लाग्छ । कलैया अस्पतालमा आकस्मिक सेवा बाहेकका ओपीडी सेवाको रसिद काट्ने समय १२ बजेपछि सकिन्छ भने २ बजेपछि डाक्टर भेटिँदैनन् । प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भए पनि उपचारका लागि आएका बिरामीहरू औषधि नपाउने र डाक्टरसमेत भेट नहुँदा चेकजाँच नगराइ घर फर्कन बाध्य भएको गुनासो गर्दछन् । ‘डाक्टरहरू ११ बजे अस्पतालमा आउनुहुन्छ, १२ देखि १ बजेसम्म चेकजाँच गर्नुहुन्छ र जानुहुन्छ ।

हामी अलिकति ढिलो भयो भने उपचार नगरी फर्कनुपर्छ,’ रामनरेश यादवले भने, ‘अर्को दिन फेरि अस्पताल आउजाउ गर्न ५ सय रुपैयाँ खर्च हुन्छ । अस्पतालले कम्तीमा २ बजेसम्म रसिद काट्ने समय राख्नुप¥यो । हामी गाउँबाट आउँदा ११ बज्छ । लामो लाइनमा कुर्दाकुर्दै स्वास्थ्य बीमाकर्ताहरूको रसिद काटिँदैन । त्यत्तिकै फर्कनु पर्छ ।’ महागढीमाई नगरपालिकाकी बीमा सहजकर्ता सुधा यादवले २५० परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराइसकेकी छन् । उनले अधिकांश बिमितले कलैया अस्पतालबाट औषधि र उपचार दुवै नपाएको गुनासो आएको बताइन् । ‘कलैया अस्पतालमा कुनै औषधि पाइँदैन भन्ने गुनासो छ, सबै औषधि बाहिर पैसा तिरेर किन्नुपर्छ ।

भिडियो एक्सरे पनि बाहिरबाट गरेर ल्याउन भन्नुहुन्छ,’ यादवले भनिन्, ‘गाउँको स्वास्थ्य केन्द्रबाट यहाँ रिफर भएका बिरामीहरू यहाँ आउँदा २ बजेपछि डाक्टर भेट्दैनन्, चेकजाँच हुँदैन । औषधि पनि १÷२ वटामात्रै पाउँछ, बाँकी सबै बाहिर पैसा तिरेर किन्नुपर्छ ।’ सरकारले २०७७ सालदेखि बारा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । जिल्लाका १६ वटा पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था र कलैया अस्पतालमा बीमा कार्यक्रम लागु छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत मुटु, मिर्गौला, सुगर, उच्च रक्तचाप लगायतका दीर्घरोग, भिडियो एक्सरे, ल्याबसहित १ हजारभन्दा बढी प्रकारका औषधि निःशुल्क पाइन्छ । तर कलैया अस्पतालमा भने सामान्य रुघाखोखीको समेत औषधि नपाएको स्वास्थ्य बीमा कार्यक्रम बारा जिल्लाका प्रमुख रमेश खनियाँको आरोप छ । ‘स्वास्थ्य बीमा कार्यक्रम अरु जिल्लामा धेरै राम्रो छ तर बारा जिल्लामा खत्तमै छ, यहाँ अस्पतालबाट न सेवा पाइन्छ, न डाक्टर भेटिन्छ ।

एउटा सिटामोलसमेत पाइँदैन,’ खनियाँले भने, ‘कलैया प्रादेशिक अस्पताल यस्तो पनि हुन्छ ! यहाँ अस्पताल सुधार्न बोलिदिने जनप्रतिनिधि, दलका नेता कोही छैनन्, सबैलाई राजनीतिमात्रै गर्नुछ ।’ खनियाँले अस्पतालमा पहुँच भएका केही सीमित राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी र जनप्रतिनिधिहरूले मात्रै सेवा पाएको तर ज्येष्ठ नागरिक, विपन्न महिला तथा बालबालिकाले कुनै सेवा सुविधा नपाएको बताए । कलैया उपमहानगर वडा नं २ का वडासदस्य अख्तर हुसेनले कलैया अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भए पनि कुनै सेवा नपाएको बताए । ‘स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत धेरै औषधि निःशुल्क पाइन्छ भन्छन् तर मैले आजसम्म कुनै औषधि पाएको छैन,’ हुसेनले भने, ‘ यो एकदमै नराम्रो कुरा हो, म सुगरको बिरामी हो ।

आजसम्म अस्पतालबाट औषधि पाएको छैन । सधैँ चर्को मूल्य तिरेर बाहिरबाट किनेर खानुपर्छ ।’ कलैया अस्पताल बारा जिल्लाको सबैभन्दा पुरानो र ठुलो अस्पताल हो । यहाँ आकस्मिक सेवाबाहेक ओपीडी सेवा लिनमात्रै दैनिक ५ सयभन्दा धेरै बिरामी आउँछन् । जसमा ६० प्रतिशतभन्दा धेरै बीमित भएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बारा जिल्लामा ३ हजार बढी परिवार जोडिएका छन् भने करिब २ हजार लक्षित वर्ग (ज्येष्ठ नागरिक, अति विपन्न, अपाङ्ग, स्वास्थ्य स्वयंसेविका) आवद्ध छन् । स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने जथाभावी खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम छ ।

सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ सालदेखि स्वास्थ्य बिमा लागु गरेको छ । स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ स्वास्थ्य बीमा नियमावली २०७५ लागु भइसकेको छ । यस नियमावलीले ज्येष्ठ नागरिकको लागि सरकारले नै बीमा प्रिमियम तिरिदिने गरी छुट्टै एकाइको रूपमा वार्षिक एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ ।

साथै, सम्पूर्ण संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्ने गरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था छ । कलैया अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाँईले २० वर्ष पुरानो जनशक्तिले अस्पताल चलाउन बाध्य भएकाले अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताए । ‘यहाँ एउटा डाक्टरले ५० जना बिरामी हेर्ने लिमिट बनाउनु भएको छ, त्यसपछि राउन्ड पनि लिनुहुन्छ ।

स्वास्थ्य बीमाको रेफरमात्रै दैनिक २ सय देखि ३ सय जना आउनुहुन्छ,’ उनले भने, ‘४ जना डाक्टरले दैनिक ४ सय देखि ५ सय बिरामी हेर्नुहुन्छ, कलैया अस्पतालमा डाक्टरको दरबन्दी भनेको ४ जना हो, हामीलाई कम्तीमा ९ जना डाक्टर चाहिएको छ ।’ प्रादेशिक अस्पताल कलैयामा ४ जना डाक्टरसहित १ सय २५ जना स्वास्थ्यकर्मीको टोली छ ।

अस्पताल सञ्चालन गर्न स्थानीय तहको कुनै सहयोग छैन भने संघीय सरकार, स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा इकाई मार्फत वार्षिक २० देखि २५ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । प्रदेश सरकारबाट निःशुल्क औषधि, इन्धन, सौन्दर्यकरणमा बजेट आउने गर्दछ । चालु आर्थिक वर्षमा अस्पतालको भवन निर्माणका लागि मधेश प्रदेश सरकारबाट २ करोड बजेट विनियोजन भएर डीपीआरको काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चौगाँईले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन समिति बनाउन आवश्यक भएको बताए । प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले सरकारले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन यसको दायरा १ लाख रुपैयाँबाट बढाउनुपर्ने बताए । उनले दीर्घ रोगी तथा ठूलो शल्यक्रिया गर्नुपरेको खण्डमा १ लाखमा १ वर्ष उपचार गर्न नसकिने भएकाले यसको दायरा बढाउन सुझाव दिए । ‘ठूलो अप्रेसन गर्दा १ लाखले खर्च धान्दैन, सरकारले स्वास्थ्य बीमाको रकम १ लाखबाट बढाउनुप¥यो, बरु शत प्रतिशत निःशुल्क नगर्दा हुन्छ,’ अस्पताल प्रमुख गुप्ताले भने, ‘अर्को ठूलो समस्या बीमाका अस्पतालबाट जुन खर्च भएको छ, त्यो पैसा सरकारबाट समयमै आउनुप¥यो ।

हामीकहाँ पैसा नआएको धेरै भएकाले अस्पताल चलाउन पनि गाह्रो छ ।’ स्वास्थ्य बीमा बापतको रकम संघीय सरकारबाट प्रत्येक महिनामा भुक्तानी भएमा औषधि खरिद लगायत अस्पताल सञ्चालन गर्न सहज हुने गुप्ताको भनाइ छ । उनले पछिल्लो समय अस्पतालमा औषधिको ठूलो समस्या भएको बताए । ‘ अहिले हामीकहाँ औषधिको ठूलो समस्या छ, हामीकहाँ आकस्मिक सेवा २४ सै घण्टा भए पनि बिरामीहरूको लागि ओपीडी १२ बजेसम्म मात्रै चलाइरहेका छौँ,’ मेडिकल सुपरिटेन्डेन्ट गुप्ताले भने, ‘हाम्रो अस्पतालमा फिजिसियिन १ जना, सर्जन २ जना, गाईनो १ जनामात्रै हुनुहुन्छ । एउटै डाक्टरले सबैतिर हेर्नुप¥यो, बिरामीको चाप धेरै छ ।

२/२ जना डाक्टर भएको भए ओपीडीको समय बढाउन सकिन्थ्यो होला ।’ अस्पतालका प्रमुख डा. गुप्ताले कलैया अस्पतालमा मुटुरोग, थाइराइड, मधुमेह, नसासम्बन्धी सबै उपचार, महिला रोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ, भिडियो, अल्ट्रासाउण्ड, हर्नियाको शल्यक्रिया, इण्डोस्कोपी सर्जरी, डाइलासिस लगायतको सुविधा रहेको जनाए ।

Comment


Related News

Latest News

Trending News