अपडेट 
२०८१ जेष्ठ ४, शुक्रबार ०७:२३

भारतको कश्मीर पु¥याएर बन्धक बनाइएका मजदुर बिहीबार नेपाल आइपुगेका छन् ।

सर्लाही, महोत्तरी र धनुषाका ३५ जना मजदुर बिहीबार बिहान सर्लाहीको मलङ्गवा नाका हुँदै नेपाल आइपुगेका छन् । उनीहरूलाई मङ्गलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा उद्धार गरिएको थियो ।

कानुनी प्रक्रिया पूरा गरी सबैलाई बिहीबार नेपाल ल्याइएको छ । उद्धार गरिएका ३५ मध्ये १२ जना सर्लाहीको ईश्वरपुर नगरपालिकाका युवा रहेका नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिए । १२ जना मुसहर (माझी) समुदायका छन् । आफ्नो नगरभित्रका १२ जनासहित धनुषा र महोत्तरीका समेत गरी ३५ जनालाई नगरप्रमुख आचार्यले मलङ्गवा नाकामै पुगेर स्वागत गरेका थिए ।

तीन वटै जिल्लाका मजदुरलाई बिहीबार दिउँसो ईश्वरपुर नगरपालिकाले कार्यालयमा ल्याएर सम्मानसहित आ–आफ्नो घर पठाएको नगरप्रमुख आचार्यले जानकारी दिए । ईश्वरपुर नगरपालिकाले मजदुरलाई उद्धार गरी ल्याउने कार्यमा अहम् भूमिका निर्वाह गरेको भन्दै किन इण्डियाका निर्देशक नवीन जोशी, किन इन्डियाका कन्सुलर सृष्टि विष्ट र लक्ष्मी विष्ट र सामाजिक अभियन्ता सरोज रायलाई सम्मान पत्रसहित सम्मान गरेको छ । मजदुरीका लागि भनी भारतको कश्मीर पु¥याइएका मजदुर करिब तीन महिनादेखि बन्धक बनेका थिए ।

काम लगाइदिने भन्दै कश्मीर पु¥याएका पछि आफूहरूमाथि कुटपिट गरी तलब नदिई डर, धम्की देखाएर बन्धक बनाएर काममा लगाएको उद्धार गरिएका युवाले बताएका छन् । सर्लाहीसहित तराई क्षेत्रमा मुसहरसहित आर्थिक रूपमा कमजोर रहेका विभिन्न समुदायका युवालाई ललाइफकाइ भारतमा पु¥याएका निकै कम पारिश्रमिक दिएर अप्ठेरो काममा लगाउने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News