अपडेट 
२०८१ जेष्ठ ५, शनिबार ०८:१३

संसद अबरुद्ध भइरहेको बेला सहकारीको रकम अपचलन छानविन गर्न संसदीय समितिको मागमा अडिग रहेको नेपाली कांग्रेसले शुक्रवार बोलाएको विपक्षी दलहरुको बैठकमा जनमत पार्टी सहभागी भएन् ।

कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार भन्दा बाहिर रहेका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनता समाजवादी पार्टी(जसपा)नेपालको सहभागिता थियो । तर जनमत पार्टी भने सहभागी भएन् ।

यस अघि हुने बैठकहरुमा जनमत पार्टीका अध्यक्ष सीके राउत जाने गरेका थिए । तर यस पटक बैठकमा जनमत पार्टीले सहभागिता जनाएनन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा कांग्रेसलाई पेलेर सभामुख देवराज घिमिरेले संसदीय कारबाही अगाडि बढाउने प्रयास गरेपछि अप्रिय स्थिति सृजना भएको थियो ।

कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत परेका थिए । अध्यक्ष ओलीले कांग्रेसले चल्न नदिदैमा संसद अबरुद्ध नहुने भन्दै आफ्ना सांसदहरुलाई बोल्न निर्देशन दिएका थिए । प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले संसदमा विपक्षी दलहरुको साथ खोजेको छ ।

एमालेसित भएको धेकेलाधकेल पछि कांग्रेसले विपक्षी दलहरुलाई मिलाएर छानविन समिति गठनका लागि थप दबाब बढाउने रणनीति बनाएको छ । संघीय गठबन्धन बाहिर रहेको जनमत पार्टीलाई सरकारमा ल्याउन एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संवाद गरिरहेको स्रोतहरुले जनाएका छन् । तर जनमतले अहिले कुनै संकेत गरिसकेको छैन् ।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् । जनमतले विश्वासको मत दिने, नदिने टुंगो लागिसकेको छैन् । जसपा नेपाल संघीय गठबन्धनबाट बाहिरिएको कारण जनमत पार्टी गठबन्धनमा समावेश हुन सक्ने उच्चस्रोतले जनाएका छन् । स्रोतका अनुसार कांग्रेसको बैठकमा जसपा नेपाललाई बोलाइएकै कारण जनमत पार्टी सहभागी भएको छैन् ।

यद्यपि जनमतका नेताहरुले समयाभावका कारण बैठकमा सहभागी हुन नसकेको बताएका छन् । जनमत पार्टीले जेठ १५ गते काठमाण्डुमा बृहत्त जनप्रदर्शनको तयारी गरिरहेको छ ।

नयाँ गणतन्त्रका लागि आन्दोलनको घोषणा गर्ने सो जनप्रदर्शनको तयारीमा जुटेकाले बैठकमा सहभागी नभएको एकजना नेताले बताए । मधेश र केन्द्रमा समेत जसपा नेपालसित बस्न नसक्ने बताउँदै आएका जनमतका नेताहरुले बैठकमा नजानुको कारण उपेन्द्र यादवको सहभागिता रहेको बताइन्छ । मधेश प्रदेशमा जनमतले सत्तासाझेदारीका लागि मुख्यमन्त्रीलाई बटमलाईन बनाएको छ । तर जसपाले तत्कालै सरकारको नेतृत्व छाड्न चाहेको छैन् । जसपा नेपाल र जनमतबीच गएको पुस महिनादेखि तिक्तता निकै बढिसकेको छ ।

कांग्रेस सहितको गठबन्धनमा जसपा नेपाल पुगेपछि जनमत संघीय सत्तारुढ गठबन्धनमा जाने संभावना बलियो छ । संघीय गठबन्धनसँगै जनमतले मधेश प्रदेशमा सरकारको प्रयास गर्नेछ । एमाले र माओवादीले मुख्यमन्त्री सरोज कुमार यादवलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रदेश सभा परिसरमा भएको बैठकमा जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले हातेमालो गरेका थिए । यद्यपि एमाले र माओवादीले पनि आफै सरकारको नेतृत्व चाहेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले सुरसण्ड बैठकमा मुख्यमन्त्रीका लागि आफूलाई प्रस्ताव समेत गरिसकिएको दावीगर्दै त्यस अनुसार नै अगाडि बढनुपर्ने दावी गरिरहेको एकजना नेताले बताए । जसपा नेपाल र जनमत पार्टीबीच मधेश प्रदेश सरकारको विषयमा हालसम्म अनौपचारिक ,औपचारिक छलफल समेत भएको छैन् । तर कांग्रेस र लोसपाले मधेश प्रदेशमा जसपा नेपाललाई सुरक्षित अवतरण(सेफल्याण्डिंग)गर्न सघाउने संकेत गरेका छन् ।

आलोपालोको लिखित सहमति गरी जसपा नेपालको सरकारलाई तत्काल विश्वासको मतदिन कांग्रेस र लोसपा लचकता देखाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)ले भने जसपा नेपालको साथ छाडेको छैन् । मधेश प्रदेशमा कांग्रेस, लोसपा, जसपा नेपाल र नेकपा एस मिलेर सरकार बनाउन पर्याप्त बहुमत रहेको छ । एमाले, माओवादी र जनमतलाई पनि नेकपा एस अथवा लोसपाको साथ अनिवार्य चाहिन्छ । कांग्रेसको बैठकमा जनमत सहभागी नभएर जसपा नेपाल सहितको गठबन्धनमा नरहने प्रष्ट संकेत गरेको नेताहरुको बुझाइ छ ।

Comment


Related News

Latest News

Trending News