राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ मार्ग छिचोलिएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको १ हजार ६ सय ५३ मिटर लम्बाई सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु भएको हो।
प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्रु भएको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंङ्गी अड्डाले जानकारी दिएको छ।
यसअघि यही जेठ ४ गते लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो।
सुरुङ मार्ग ब्रेक थ्रुको कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थिति थियो।

