अपडेट 
२०८१ जेष्ठ १२, शनिबार ०६:५०

नेकपा माओवादी केन्द्रले भदौँमा मधेश प्रदेश सम्मेलनको तयारीमा जुटेको छ । मधेश प्रदेश सम्मेलनका लागि माओवादीले कार्यविभाजनसँगै राजनीतिक गतिविधिलाई समेत अघि बढाएको जनाएको छ ।

मधेश प्रदेशको पाँच वटा जिल्लाको कार्यक्रम सम्पन्न भइसकेको जनाउँदै बाँकी ३ जिल्लामध्ये धनुषामा शुक्रबार बैठक भएको छ । नेकपा माओवादी केन्द्र धनुषाको कार्यालयमा जिल्ला इन्चार्ज श्रवण यादव जीवनको अध्यक्षतामा भएको बैठकबाट १४ गते सोमबार बैठक बसेर विभिन्न एजेण्डामा छलफल गरिने कार्यालय सचिव श्रीनारायण झा प्रतिहस्तले जानकारी दिए ।

सिरहा, धनुषा, र महोत्तरी जिल्ला पार्टीमा रहेको विवाद मिलाउँदै प्रदेश समितिको सम्मेलन गर्ने योजना रहेको अनुसार नै शुक्रबार धनुषाको जिल्ला पार्टी कार्यालयमा बैठक बसेर सोमबार कार्यक्रम गर्ने निर्णय भएको उनले बताए । पालिका तथा वडाको सम्मेलन गरी समिति बनाउने र कार्यविभाजन गर्ने काम भइरहेकोसमेत उनले बताए ।

माओवादीले निर्वाचन तथा जिल्ला तहमा कार्यक्रम अगाडि बढाएको मधेश प्रदेशका सहइन्चार्ज विश्वनाथ साहले जानकारी दिए । सिरहा, धनुषा र महोत्तरीमा माओवादी केन्द्रका मधेश प्रदेश समितिको सम्मेलन आगामी भदौँमा गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र धनुषाका निवर्तमान अध्यक्ष दीपक यादवले बताए । सोही अनुसार तल्लो तहदेखि कार्यक्रम भइरहेको उनले बताए ।

पार्टीका कार्यक्रम गर्नुको साथै मधेश प्रदेशमा देखिएको विवाद समाधानका लागि पनि पहल भइरहेको जनाइएको छ । केही जिल्लामा पार्टीको आन्तरिक विवादका कारण त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे पनि छलफल भइरहेको छ । सहइन्चार्ज साहले हालसम्म विवाद जहाँको त्यहीँ रहेको र समाधानको प्रयास जारी रहेको बताए ।

विभिन्न समिति गठन गरी कार्यविभाजन गर्दै पार्टीलाई क्रियाशील गराए पछि सबै आ–आफ्नो काममा व्यस्त हुने र विवाद पनि स्वतः समाधान हुने उनको भनाइ छ । जनताको विश्वास अझै माओवादीमाथि देखिएको बताउँदै केन्द्रीय सदस्य रामेश्वर राय यादवले पार्टीभित्रका विवाद व्यवस्थापन गरेर सांगठनिक कामलाई अगाडि बढाएमा मधेश प्रदेशमा माओवादीको सम्भावना बलियो रहेको बताए ।

Comment


Related News

Latest News

Trending News