अपडेट 
२०८१ जेष्ठ १३, आईतवार ०७:३८

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ धनुषाले शनिवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको छ ।

नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषाले संयुक्तरुपमा जनकपुरधाममा जुलुस प्रदर्शन गर्दै गृहमन्त्री लामिछानेको पुत्ला जलाएका छन् । नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्नुपर्ने माग गरे ।

राराब क्याम्पस स्ववियूका सभापति मनिष यादवले प्रेस स्वतन्त्रतामाथि सरकारले ठाडो हस्तक्षेप गरेको आरोप लगाउँदै तत्काल सिरोहियालाई रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए । नेपाली कांग्रेसले आइतवार काठमाण्डुमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाबाट संयुक्त रुपमा गरिने प्रदर्शनबाट सहकारी रकम अपचलन गर्ने गृहमन्त्री लामिछाने उपर छानबिन र सञ्चार उद्यमी सिरोहियाको रिहाईको माग गर्ने कांग्रेसले जनाएको छ । नागरिकता सम्बन्धी मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिए पछि उनलाई शुक्रबार राति प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई स्थानीय काव्या अस्पतालमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । अध्यक्ष सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायतका समस्या रहेको छ ।

उनलाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि धनुषा प्रहरीले अस्पताल भर्ना गर्नुपरेको जनाइएको छ । जनकपुरधाममा गर्मी अत्यधिक बढेको कारण पनि सिरोहियालाई स्वास्थ्यमा जटिलता देखिएको चिकित्सकहरुले बताएका छन् । काव्या अस्पतालका सञ्चालक समेत रहेका डा.एस.के. सिंहले जनाए अनुसार उनको मुटुमा पहिलेदेखि नै समस्या रहेकोले हाल जटिलता बढेको छ । तर उनी भर्ना भएदेखि स्वास्थ्य अवस्था स्थिर रहेको डा.सिंहले बताए ।

मंगलबार कान्तिपुर कार्यालयबाट गिरफ्तार गरिएको अध्यक्ष सिरोहियालाई प्रहरीले बुधबार बिहान जनकपुरधाम ल्याएको थियो । धनुषा जिल्ला अदालतको अनुमतिमा तीन दिन देखि धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई शुक्रबार पुनः अदालतले तीन दिन हिर ासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Comment


Related News

Latest News

Trending News