अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार ०७:३४

अदालतबाट ठगी मुद्दामा दोषी ठहर भइ सजाय फैसला पाएका एक कर्मचारीले सजाय भुक्तान नगरी सरकारी कामकाज गरिरहेको पाइएको छ ।

बारा जिल्ला अदालतले ठगी मुद्दामा सरकारी कर्मचारी सुमन चौधरीलाई दोषी ठहर गर्दै २ वर्ष कैद तथा जरिवानाको फैसला गरेको थियो । तर चौधरीले अदालतको अवहेलना गर्दै सजाय भुक्तान नै नगरी अहिले मालपोत कार्यालय पर्साको अधिकृत पदमा काम गरिरहेको पाइएको छ ।

जिल्ला अदालतले ०८० मंसिर १३ गते बारा मालपोतका तत्कालीन अधिकृत चौधरीलाई दोषी ठहर गरेको थियो । अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले फिल्डमा हुँदै नभएको जग्गालाई नापी कार्यालयको मिलेमतोमा आर्थिक लाभका लागि श्रेस्ताभन्दा बढी जग्गा देखाइ श्रेस्ता र पुर्जासमेत तयार गरी सरकारी लिखत किर्ते गरेको ठहर गर्दै मालपोत अधिकृत चौधरीसहितका प्रतिवादीविरुद्ध फैसला सुनाएको थियो ।

मालपोत अधिकृत चौधरीले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएको जिकिर गर्दै उच्च अदालतबाट फैसला नआउन्जेल आफूलाई काम गर्न कुनै बाधा नरहेको तर्क गरे । उनले भने, ‘उच्च अदालतबाट २ वटा तारिख पाइसकेको छु । उताबाट काम नगर्न कुनै आदेश नआएकाले म मालपोतमा काम गर्दैछु ।’ आफू करिब ५ महिनादेखि पर्सा मालपोतमा अधिकृत पदमा काम गरिरहेको उनले बताए । मालपोत कार्यालय पर्साका प्रमुख डमरु निरौलाले आफूले भर्खरै जिम्मेवारी सम्हालेकाले यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

बारा जिल्लाको डुमरबाना–६ स्थित रामपति देवी थरुनीको नाममा रहेको जग्गा खरिद बिक्री गरी बाराकै जीतपुर सिमरा–१५ का गोपनी क्षेत्रीनी, आशा घले र रिममाया घलले भोग चलन गर्दै आइरहेका थिए । तीनै जनाले रामपति देवी थरुनीको नाममा रहेको करिब १० कट्ठा जग्गा ०७० सालको मंसिर १६ गते खरिद गरेका थिए । तर मालपोत र नापी कार्यालयको मिलेमतोमा यही जग्गा पुनः रामपति देवी थरुनीको श्रीमान सदामा प्रसाद चौधरीको नाममा हाल साविक गरिएको थियो । त्यसपछि गोपनी क्षेत्रीनी, आशा घले र रिममाया घलेले आफ्नो जग्गा पुनः अरुको नाममा पास गरेको थाहा पाएपछि मालपोत अधिकृत चौधरीसहित ७ जनालाई प्रतिवादी बनाउँदै ठगी मुद्दा दिएकी थिइन् ।

िजल्ला अदालतले बाराका तत्कालीन मालपोत अधिकृत सुमन चौधरीलाई २ वर्ष कैद र २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

Comment


Related News

Latest News

Trending News