अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार २०:०७

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीच यस्तो सहमति भएको हो।

सहमतिमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ। सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीका प्रतिनिधिको हस्ताक्षर छैन।

सरकारमा यी तीन दलसँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ। १०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन्।

३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। २१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन्।

Comment


Related News

Latest News

Trending News