अपडेट 
२०८१ जेष्ठ १८, शुक्रबार ११:१५

यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत देखिएको छ ।

भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ । भोलि जुन १ तारिख हो ।

भारतमा मनसुन भित्रिएको एक हप्तादेखि १० दिनसम्ममा नेपाल भित्रिने गर्छ । भारतमा हिजो मनसुन भित्रिसकेकाले अबको एक हप्तादेखि १० दिनभित्र नेपालमा पनि मनसुन भित्रिने सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो ।

जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीकाअनुसार यसवर्षको मनसुन औसतभन्दा दुई दिन अगाडि भारतको केरलामा र छ दिन अगाडि भारतको आसाम, मेघालयसम्म पुगेको छ । यो वर्ष करिब एक हप्ताअघि नै मनसुन भारतको आसाम भित्रिएकाले नेपालमा पनि एक हप्ताअघि नै मनसुन भित्रिने सम्भावना बढेको उपे्रतीको भनाइ छ । मनसुन भित्रिन कम्तिमा एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविदको भनाइ छ ।

अहिले नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरु तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News