अपडेट 
२०८१ जेष्ठ १९, शनिबार १४:०२

जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त मेला आयोजना गरिएको हो।

दुई दिनसम्म चल्ने उक्त मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको हो। मेलाको नेपाल उद्योग परिसङ्घले संयोजन गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलका अनुसार मेलामा रोजगारीसहितका कक्ष रहने छन्। कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको उनले बताए।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन्।

कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन्। मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह थपिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन्।

श्रमाधान रोजगार मेला उद्घाटन् गर्दै मन्त्री अर्यालले बेरोजगारी समस्या समाधान गर्न उद्योगीहरुको सहयोग आवश्यक रहेको बताए। उनले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औंल्याए।

उनले भने, ‘कुनै पनि कार्यक्रम गर्नुको पछाडी उदेश्य हुन्छ। त्यस्तै एउटा उदेश्य बोकेर श्रमाधान रोजगार मेला सुरु गरेका छौं। स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो।’

Comment


Related News

Latest News

Trending News