अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार ०७:१६

प्रदेश सभाको बैठक नियमित सञ्चालन भएको छ । बैठक प्रारम्भ हुनासाथ जनमत पार्टीका सभासदहरुले छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध गरेका थिए । सभामुख रामचन्द्र मण्डलले बैठक केही बेर स्थगन गरी जनमत पार्टीको मागलाई सम्बोधन गर्ने सहमति भएपछि अबरोध हटेको थियो । सोमबार बसेको मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक जनमत पार्टीले अवरुद्ध गरेपछि सभामुखले १० मिनेटको लागि स्थगित गरेका थिए ।

कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा गत माघ ८ गते सप्तरी जिल्लाको राजविराजमा भएको घटनाको प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्नेमा सहमति जुटेको छ । जनमत पार्टीले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए । जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका तत्कालीन शिक्षा मन्त्री महेश प्रसाद यादव र सभासद सतिश सिंह लगायतका कार्यकर्ताहरुमाथि प्रहरीले लाठीचार्ज गरेकाले घटनाको संसदीय छानबिन गर्नुपर्ने मागगर्दै जनमत पार्टीले संसद अबरुद्ध गर्दै आएका थिए ।

कृषि विश्वविद्यालयको भवन शिलान्यास जनमत पार्टीका अध्यक्ष समेत रहेका सो क्षेत्रका सांसद डा.सीके राउतले गर्नुपर्ने माग गर्दै कार्यक्रममा अबरोध गरिएको थियो । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त भवनको शिलान्यास गरिरहेको बेला जनमत पार्टीका कार्यकर्ताले विरोध गरेका थिए । त्यस क्रममा प्रहरीले बल प्रयोग गर्दै सभासदद्वय यादव र सिंह सहितका केही कार्यकर्ता घाइते भएका थिए ।

मुख्यमन्त्री सरोज कुमार यादवले गत वैशाख ४ गते विश्वासको मत लिने क्रममा जनमतका सभासदहरुले प्रदेश सभामा तोडफोड गरेका थिए । दुबै घटनाको छानबिन प्रदेश मामिला समिति मार्फत गर्न दलहरु सहमत भएका छन् । सो घटनाको छानबिन पनि प्रदेश मामिला समितिले नै गर्ने सभामुख मण्डलले प्रदेश सभा बैठकमा घोषणा गरेका थिए । छानबिनका लागि दलहरुबीच सहमति भएसँगै मधेश प्रदेश सभाको गतिरोध हटेको छ । मधेश प्रदेशसभा प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइत रहेका छन् ।

समितिको सदस्यमा कुनै दलका प्रतिनिधित्व नभए त्यसमा समावेश गरिने सभामुख मण्डलले जनाएका छन् । जनमतका सभासद चन्दन सिंहले बैठकमा छानबिनको माग गर्दै सदन अबरुद्ध गरेका थिए । सहमति भएपछि सत्तारुढ जसपा नेपालका प्रमुख सचेत रामअशिष यादव, लोसपाका उपनेता उपेन्द्र महतो, माओवादीकी सभासद माला कर्ण, एमालेका दीपेन्द्र ठाकुर, कांग्रेसका जनार्दन सिंह क्षेत्री लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

मुख्यमन्त्री यादवले चौथों पटक विश्वासको मत लिँदा जनमत पार्टी निकै आक्रोशित भएर संसदलाई अवरुद्ध गरेका थिए । जनमत पार्टीलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले साथ दिएका थिए । एमाले, माओवादी र नेकपा एस सहित नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मुख्यमन्त्री यादवको पक्षमा थिए ।

अहिले मधेश प्रदेशको सत्ता समीकरण फेरिएको छ । मुख्यमन्त्री यादवले २३ गते बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । उनलाई कांग्रेस, लोसपा र नेकपा एसले साथ दिने विश्वास गरिएको छ । तर एमाले र माओवादी केन्द्रले जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न गरेको सहमतिलाई नेकपा एस र लोसपाले समर्थन जनाउने दावी गरिएको छ । दुवै पक्षले बहुमतको दावी गरिरहे पनि अंक गणितको संख्या कसैको पक्षमा पुगिसकेको छैन् ।

१ सय ७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सभासद चाहिन्छ । एमाले, जनमत र माओवादीले ६३ सभासद पक्षमा रहेको दावी गरिरहेका छन् । सत्तासीन जसपा नेपालले ५९ सभासद पक्का रहेको र बहुमत सावित गर्नेमा विश्वस्त देखिएका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिएपछि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश हुनेछ । प्रदेश सभाको बैठक मंगलवार १ बजे बस्ने प्रदेश सभाको सचिवालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News