अपडेट 
२०८१ जेष्ठ २४, बिहीबार ०७:४३

मधेश प्रदेशका मुख्यमन्त्री प्रदेश सभाबाट पदमुक्त भएका छन् । उनले विश्वासको मत प्राप्त गर्न असफल भएपछि पदमुक्त भएका छन् ।

मधेश प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भएका छन् । जसपा नेपालको साढे ६ वर्षको कार्यकालमा पटक–पटक गठबन्धन फेरिए पनि मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भएको थिएन् । निवर्तमान मुख्यमन्त्री यादवले यस अघि ४ पटक विश्वासको मत प्राप्त गरेका थिए ।

उनी पछिल्लो पटक वैशाख ४ गते विश्वासको मत लिँदा उनको पक्षमा ५९ जनाले समर्थन जनाएका थिए । त्यसमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस पनि रहेको थियो । एमाले र माओवादीले वैशाख २९ गते समर्थन फिर्ता लिए पनि नेकपा एसले मंगलवार साँझ मात्र सरकारको साथ छाडेका थिए ।

मधेश प्रदेशसभामा बुधवार मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न सकेनन् । उनको पक्षमा ५० मत परेको थियो । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा सरकारका लागि ५४ सभासदको समर्थन चाहिन्छ । मुख्यमन्त्री यादवलाई स्पाइनलको समस्या रहेकाले उनी अस्वस्थताको कारण विश्वासको मत २८ गते लिने पत्र प्रदेश सभामा पठाएका थिए । तर, प्रदेश सभामुख रामचन्द्र मण्डलले कार्यसूचीबाट हटाउन अस्वीकार गरेपछि ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक साँझ ७ बजे सुरु भएको थियो ।

बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत दिन आव्हान गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशले आर्थिक वर्ष २०८१/०८२ मा समपुरक र सशर्त अनुदान नपाउनुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोषी रहेको आरोप लगाएका छन् । विश्वासको मत लिने क्रममा भएको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यादवले समपुरक र सशर्त अनुदानका लागि आफू फाइल बोकेरै काठमाण्डु पुगेको स्मरणसमेत गरे ।

प्रधानमन्त्री प्रचण्डलाई बैठकमा पाँचौ पटक भेटघाट गर्दै मधेश प्रदेशलाई विभेद नगर्न आग्रह समेत गरेको बताए । मधेश प्रदेशलाई विभेद नगरी जनसंख्याको आधारमा बजेट पठाउन भनेको स्मरण गर्दै मुख्यमन्त्री यादवले भने, ‘प्रधानमन्त्री ज्यूले योजनाको प्रमुख भुटान जानु भएको छ, आएपछि इन्ट्री गर्न लगाउछु भन्नु भएको थियो ।’ संघ सरकारको इशारामा कर्मचारीले समपुरक र सशर्त अनुदान नपठाएको भन्दै प्रश्न गरे, ‘अब भन्नुस् दोषी मधेशका मुख्यमन्त्री कि संघका प्रधानमन्त्री र मन्त्रीहरु छन् ? मुख्यमन्त्री यादवले भने, ‘देशको प्रधानमन्त्रीले नै जुनसुकै बेला उथलपुथल गरिदिन्छु भन्नुहुन्छ भने त्यो देशमा के विकास हुन्छ भनेर प्रश्न पनि गरेको छु ।’ उनले प्रहरी समायोजन र निजामती कर्मचारी ऐनका लागि पटक पटक संघ सरकारको ध्यानाकर्षण गराउँदा काम अगाडि बढेको दावी गरे पनि गृह मन्त्री जनकपुरधाम आउँदा खेरी एक इन्च पनि अगाडि नबढेको बताएको जानकारी दिए । संघले कर्मचारीलाई काम नगर्नकै लागि पठाउने गरेको उनले आरोप लगाए ।

विश्वासको मतको प्रस्ताव गरेको सन्दर्भमा मुख्यमन्त्री यादवले सरकार परिवर्तन भइरहने हुनाले आज म छु, भोलि अन्य व्यक्ति आउने हुनाले यसलाई आफूले स्वाभिकरुपमै लिएको बताए । उनले विश्वासको मत पाउने समय जेष्ठ २८ गतेसम्म रहे पनि कताकता के के गरेर आजै लिनुपर्ने भनेपछि बाध्यतावश आजै लिनुपरेको पनि बताए ।

यस क्रममा उनले आफूमाथि लागेको आरोप प्रमाणित नभएको दाबी गरे । आफूले सबै दलको सहयोगमा १७ महिनासम्म मुख्यमन्त्री रहेको बताउँदै ‘सबै दलका नेता मेरो मन्त्रिमण्डलमा काम गरिसक्नु भयो । सबैलाई धन्यवाद ।’ उनले भने । मुलुकमा संघीयता, प्रादेशिक व्यवस्था स्थापित गर्न संघ सरकार समक्ष गरेको महत्वपूर्ण वार्ता र प्रदेश समन्वय मार्फत गरेको भूमिका स्मरणीय रहने उनले बताए ।

मुख्यमन्त्री यादवको पक्षमा जसपा नेपालको १९ सभासद, नेपाली कांग्रेसका २२ सभासद, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का ८ सभासद र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का १ सभासदले मत दिएका थिए । मुख्यमन्त्रीको विपक्षमा ५३ मत परेको छ । विपक्षमा नेकपा एमालेका २४, जनमतका १३, माओवादीका ९ र नेकपा एसको ७ जना सभासदले मत प्रकट गरेका थिए । प्रदेश सभाको बैठकमा १ सय ३ जना सभासदको उपस्थिति रहेको थियो ।

नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला देवी सिंह अनुपस्थित रहे । उनीहरुलाई सत्ता आरोहन गर्न लागेका दलहरुले बन्धक बनाएको आरोप लगाइएको छ । २०७९ साल पुस २३ गते जसपा नेपाल संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, जनमत पार्टी , माओवादी , लोसपा, एसले समर्थन दिएको थियो । तर संघीय गठबन्धन परिवर्तन भएसँगै मधेश प्रदेशमा कांग्रेस, जनमत, लोसपा, नेकपा एससहितको समर्थन प्राप्त गरेका मुख्यमन्त्री यादवले गत वैशाखमा कांग्रेसलाई सरकारबाट हटाएका थिए ।

गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौपटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउनुपरेको छ । गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए । उनले बुधबार पाँचौपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । तर बहुमतले अस्वीकृत भएको छ ।

योसंगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी गरेको छ । मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनु पूर्व सत्तासाझेदार दलहरु माओवादी केन्द्र, लोसपा र विपक्षी एमाले र जनमत पार्टी मिलेर अल्पमतमा पार्न भारतको सुरसण्डमा बैठक गरेका थिए ।

सो बैठकमा माओवादी संसदीय दलका नेता भरत साहलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो । एमाले, जनमत र माओवादीले गत हप्ता नै सरकार गठनका लागि बहुमतको दावी पेश गर्ने बताए पनि नेकपा एसको साथ पाएको थिएन् । सुदुरपश्चिममा एसको सरकारमा माओवादी र एमाले सहभागी हुने र कोशी प्रदेशमा एसलाई मन्त्री बनाउने प्रतिबद्धता पाएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा जसपा नेपालको साथ छाडेका छन् ।

Comment


Related News

Latest News

Trending News