अपडेट 
२०८१ जेष्ठ २६, शनिबार १७:३३

जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशनमा विभिन्न देशका अतिथिहरू सहभागी हुने भएका छन् ।

जनकपुरमा जेठ २८ गतेदेखि  सुरु हुने एकता महाधिवेशनमा सहभागी हुन मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट आउने अतिथि आजै काठमाडौँ आइपुग्ने र भारतबाट आउने अतिथिहरू भने बिहारको दरभंगासम्म आउने र त्यहाँबाट सडक मार्ग हुँदै जनकपुर आउने जसपा नेपालका विदेश विभाग प्रमुख अर्जुन थापाले बताए ।

मलेसियाको डेमोक्रेटिक एक्सन पार्टीका युवा नेता नुर रहिम बिन निसार, भारतीय समाजवादी पार्टीका नेता एवम् सामाजिक चिन्तक डा.सुनिलम महाधिवेशनमा अतिथिको रूपमा आउँदैछन् ।

त्यस्तै स्पेनिस सोशलिस्ट वर्कर पार्टीका अन्तर्राष्ट्रिय संयोजक रिकार्ड टोरेल, भारतका सोशलिस्ट पार्टीका प्रवक्ता मनिस सिंह, राष्ट्रिय जनता दलका प्रवक्ता आलोक मेहता, भारतीय कांग्रेसका नेता बीआर पाटिल र सोही पार्टीका प्रवक्ता उदित राज अतिथिको रूपमा आउन लागेका विदेश विभाग प्रमुख थापाले बताए ।

त्यस्तै अजरबैजान पार्टीका सांसद स्माइलोभ शाहिन, प्रोग्रेसिभ एलाइन्स र सोसल डेमोक्रेटिक एलाइन्सका प्रतिनिधि पनि महाधिवेशनमा आउने बताइएको छ ।  चिनियाँ कम्युनिस्ट पार्टीबाट भने कोही प्रतिनिधि नआउने बताइएको छ । यद्यपि सो पार्टीले जसपालाई महाधिवेशन सफलताको शुभकामना सन्देश पठाएको छ ।

त्यस्तै, जसपा नेपालबाट अलग भएको अशोक राई नेतृत्वका जसपाबाहेक अन्य अधिकांश दललाई महाधिवेशनमा अतिथिका लागि निमन्त्रणा पठाइएको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा नेपाल, राप्रपालगायतका दललाई पनि निमन्त्रणा पठाइएको छ । अहिलेसम्म कुन–कुन दलका प्रतिनिधि आउने भन्ने कुराको टुङ्गो भने लागिनसकेको सो पार्टीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News