अपडेट 
२०८१ जेष्ठ २७, आईतवार ०७:०५

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको बताएका छन् । जनकपुरधाममा शनिबार प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जसपा नेपाल विभाजन नभएको दाबी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताए । केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइटाउनुलाई विभाजन भन्न नमिल्ने उनको भनाइ छ । उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएको अरोप लगाए ।

निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको उनले बताए । अध्यक्ष यादवले भने, ‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो ।’ उनले आगामी दिनमा संघीयता तथा समावेशिता पक्षधर हरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए ।

अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले देशको अन्तर्राष्ट्रिय स्तरमा छवि बिगारेको टिप्पणी गरे । उनले विभिन्न देशबाट राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको आपत्तिजनक रहेको भन्दै विरोध गरे । अध्यक्ष यादवले भने, ‘कतिपय मुलुकमा हाम्रो देशको लागि लाजमर्दो अवस्था छ ।

भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ? यो भनेको अत्यन्तै गलत हर्कत हो । देशलाइ नै बेइज्जत गराउने काम सरकारले गरेको छ ।’ उनले अघि थप्दै भने, ‘राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत रहेको छ ।

देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने कामभएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।’ उनले सरकारले ल्याएको बजेट आग्रह पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाए । अध्यक्ष यादवले सरकारले ल्याएको अहिलेको बजेट तराई– मधेश विरोधी र पूर्वाग्रही रहेको बताए ।

सरकारको बजेट मधेश र मधेशीको विकासलाई आफ्नो विकास नमान्ने गरेको आरोप पनि उनले लगाए । उनले मधेश प्रदेशको सरकारबाट जसपा नेपाल बाहिरिएको सन्दर्भमा सरकार बन्नु र खस्नु लोकतान्त्रिक प्रक्रिया रहेको बताउँदै राजनीतिमा सरकार बनाउनु र ढाल्नु खेल चलिरहेको बताए । उनले उखु किसान र दुध किसानको रकम यथासिघ्र भुक्तानी गर्नका लागि सरकारसंग आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News