अपडेट 
२०८१ जेष्ठ २८, सोमबार ०७:१६

जनता समाजवादी पार्टी नेपालको एकताको प्रथम महाधिवेशन सोमबारदेखि जनकपुरधाममा हुँदैछ ।

महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको र अतिथि तथा सहभागीहरु जनकपुरधाम आइतबार अवेर राति सम्म पुगि सकेका छन् । कार्यक्रममा सहभागी हुने विशिष्ठ अतिथिहरु सोमबार आउने जनाइएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुलाई आमन्त्रण पठाइएको छ । तर, प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन दिल्ली रहेका कारण उनी आउन नसक्ने जनाइएको छ ।

जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापित पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव आउने भएका छन् ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले नेकपा एमाले र नेकपा माओवादीलगायतका दलबाटसमेत नेताहरु महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुने बताए । यस महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई समेत निम्तो दिएको प्रवक्ता सुमनले बताए । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन बुधबार हुनेछ । जसपा नेपालको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको छ ।

सो कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशन, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोमबार दिउँसो २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सो उपर निर्णय गरिनेछ । जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ ।

जसपा नेपाल केन्द्रीय समितिको निर्वाचन समापन पछि सबै पदको मतगणना एकै पटक हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसपा नेपालको महाधिवेशनबाट अध्यक्षसहित २० जना पदाधिकारीको निर्वाचन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले दिएको जानकारी अनुसार महाधिवेशनले एकजना अध्यक्ष, एकजना सहअध्यक्ष, पाँच जना उपाध्यक्ष, दुईजना महासचिव, तीनजना उपमहासचिव, सातजना सचिव र एकजना कोषाध्यक्ष र २०१ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ ।

सात सचिवमध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एक/एक जना गरी सात जना रहने उनले बताए । पदाधिकारीमा आकांक्षी धेरै रहेकाले निर्वाचनमै जाने देखिएको अर्का एक नेताले बताए । प्रमुख बस्नेताले भने, ‘अहिले भएका केन्द्रीय सदस्य र कार्यकारिणीबाटै पदाधिकारी निर्वाचित भएर आउने छ भने आकांक्षी पनि धेरै छन् । त्यसमा अध्यक्षलाई मिलाउन निकै सकस पर्ने देखिएको छ । त्यसैले निर्वाचन हुने पक्का छ ।’ उनका अनुसार अध्यक्ष पदमा अउन कसैले दाबी नगरे पनि दोस्रो वरियताको सहअध्यक्षमा राजकिशोर यादवसहित रकम चेम्जोङ र लालबाबु राउतबीच कडा प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सहअध्यक्षमा नअट्ने अन्य नेतालाई उपाध्यक्ष बनाउनकै लागि पाँचजनाको व्यवस्था गरिएको उनले बताए ।

महासचिवमा भने मनिष सुमन, प्रकाश अधिकारी, रामकुमार शर्मालगायतको दाबी रहेको उनको भनाइ छ । दुईमध्ये एकमा पार्टी प्रवक्ता सुमनको सम्भावना बढी रहेको संकेत उनले गरे । महाधिवेशनमा गएपछि निर्वाचन हुनु स्वाभाविक रहेको नेता प्रकाश अधिकारी बताउँछन् । उम्मेदवार बन्ने मापदण्ड जसपा नेपालले महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्थासमेत निर्धारण गरेको छ ।

पदाधिकारी तथा सदस्य पदको उम्मेदवार हुन पार्टी विधानको धारा २५ मा न्यूनतम योग्यता निर्धारण गरिएको प्रचार विभाग प्रमुख बस्नेतले बताए । केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश÷राष्ट्रिय समितिको अध्यक्ष भइ कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न संगठित पार्टी सदस्य भइ कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश/राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय संगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्नेछ ।

महिला, दलित, श्रमिक, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश/राष्ट्रिय समिति वा जनवर्गीय संगठनको केन्द्रीय समितिको पदाधिकारी भई काम गरेको भए पुग्नेछ । यस्तै महाधिवेशनमा उम्मेदवार हुनेहरूलाई दस्तुरसमेत निर्धारण गरिएको छ ।

जसपा नेपालले तयार पारेको निर्वाचन निर्देशिका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरिएको जनाइएको छ । अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई सात हजार रुपैयाँ, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि पाँच हजार रुपैयाँ, केन्द्रीय सदस्यमा उम्मेदवार हुन दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महाधिवेशन स्थल तिरहुतिया गाछीलाई भव्य रुपमा सजाइएको छ । करिव दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जनाइएको छ । सोही अनुसारको तयारीसमेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News