अपडेट 
२०८१ जेष्ठ २९, मंगलवार ०७:३९

जनता समाजवादी पार्टी(जसपा)नेपालको प्रथम महाधिवेशनमा जनसागर उर्लियो । जनकपुरधाममा परिक्रमा गर्ने यात्राको जस्तै सडकमा ताँती र विवाहपञ्चमीको भीड जेठ महिनामा नै हुँदा स्थानीयहरु च्कित भए ।

४१ डिग्री तापक्रम र ४८ डिग्रीको अनुभूति गरिएको चिल्लाउँदो गर्मीमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति समर्थन जनाउन हजारौँ नरनारीहरु जनकपुरधाममा ओर्लिए । अपेक्षा गरिएको भन्दा कयौं गुणा बढी भीड भएपछि सम्मेलनस्थलको तापक्रम झनै बढेको थियो । पानीका लागि मानिस छट्टपट्टिएर पनि सभास्थलबाट निस्कन चाहिरहेका थिएनन् ।

जनपरिचालन समितिका संयोजक हरिनारायण यादवले उत्साहित नेता, कार्यकर्ताहरु गाउँगाउँबाट आएकाले भीड अप्रत्याशित भएको बताए । ‘खसवादी राज्यसत्ताले पार्टी विभाजन गर्न गरेको असफल प्रयासको यो जवाफ हो ’ उनले भने, जसपा नेपालप्रति अगाध जनविश्वास रहेको फेरि सावित भएको छ । जसपा नेपालबाट गत वैशाख २३ गते ७ जना संघीय सांसद पार्टीबाट चोइटिए । मधेश प्रदेशमा घात गरेर सरकार ढालियो । तर त्यसको कुनै प्रभाव नपरेको महाधिवेशनले सावित गरेको उनले बताए ।

देशको सातवटै प्रदेशबाट पहिचान सहितको झाँकी र जुलुस सहित नगरपरिक्रमागर्दै सहभागिहरु उद्घाटन स्थलमा पुगेका थिए ।हिमाली र पहाडी भेगका जसपाका नेताहरुले प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरेका थिए । उदयपुर जिल्लाबाट सहभागी कमला राइले जसपा नेपालबाट पटक पटक स्वार्थीहरु गएको बताउँदै पहिचान र जनजिविका लागि लडिरहेको पार्टी जनजनमा पुगेको बताइन् । ‘पार्टी विभाजन गरेकाहरु जनतामा जान सक्दैनन्’ उनले भनिन्, आगामी चुनावमा जसपा नेपाल देशको निर्णायक शक्ति हुनेछ ।

जसपा नेपाललाई विभाजन गर्न राज्यको सम्पूर्ण श्रोत र साधनको दुरुपयोग गरिएको उल्लेख गर्दै मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले भने, संघीय सत्ता जसपा नेपालको जनाधारबाट विचलित भएको छ । ‘नेपालको सबै भूगोलको भेषभुषासहितको पहिचान जनकपुरधाममा पहिलो पटक देखिएको छ ’ उनले भने, जसपा नेपालले देश विभाजन होइन, आदिवासी, जनजाति, दलित, मधेशी, महिला, मुसलमान सबैको पहिचान र अधिकार सुनिश्चित गर्न चाहेको छ ।

विभिन्न भाषाभाषी र पहिरनमा रहेका हजारौँ नरनारीहरुलाई जनकपुरधाममा पहिलो पटक धेरैले देखे । धार्मिक समारोहहरुमा उनीहरु आए पनि भूगोल अनुसारको पहिरन र बाजागाजा लिएर आउँदैनन् । महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरुले जनकपुरधाम नेपालकै भूभाग रहेको झझल्को दिएका थिए । जनपरिचालन व्यवस्थित र मर्यादित रहे पनि कमजोर व्यवस्थापनको कारण सहभागीहरुले अनावश्यक पीडा भोग्नु प¥यो । पानी र हावाको समुचित व्यवस्था नहुँदा सहभागीहरुलाई सास्ती भएको थियो ।

खचाखच भरिएको तिरहुतिया गाछीमा व्यवस्थापन निकै कमजोर रहेको सहभागीहरुले गुनासो गरिरहेका थिए । भित्र पसेकाहरु गर्मी खप्न नसकेर बाहिर निस्कन व्यग्र देखिन्थे । भित्र ठाउँ नपाएर बाहिर रोकिएकाहरु थोरै निस्कदा धेरै पस्ने गरेका थिए । ठूलो लगानी गरी तयार पारिएको महाधिवेशन स्थलमा प्रचण्ड गर्मी हुने तर्फ ध्यान दिएको देखिएन ।

सर्वसाधारण मात्र नभई मञ्चासीनसमेत गर्मीले छट् पटिएका थिए । मध्यान्हदेखि बजारमा जसपा नेपालका नेता, कार्यकर्ताहरुको घुइँचो लागेको थियो । तिरहुतिया गाछीमा रहेकाहरु भन्दा धेरै बढी सहभागीहरु मठ मन्दिरहरुको दर्शनपूजा र तलाउ सरोबर हेरिरहेका थिए ।

Comment


Related News

Latest News

Trending News