अपडेट 
२०८१ जेष्ठ ३०, बुधबार ०६:४४

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा मधेश प्रदेशको हरेक निर्वाचन क्षेत्र एक रोजगार प्रवद्र्धन केन्द्र, हरेक पालिकामा कृषि बिद्युतीकरण, पूर्ण साक्षर मधेश प्रदेश– साक्षरता अभियान, हरेक जिल्लामा पूर्ण सुसज्जित मेडिकल उपकरणसहितको मोबाइल एम्बुलेन्स, हरेक पालिकाको सांस्कृतिक झल्को देखिने माटो पार्क, हरेक पालिका एक एग्रोभेट, १ करोड़ वृक्षरोपण, मधेश स्वयंसेवक कोर, चुरे संरक्षण तथा पानी रिचार्ज, मधेश प्रीमियर लिग, मधेश इतिहास पार्क, मधेश लगानी सम्मेलन, मधेश वैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम, मधेश बैदेशिक रोजगार उद्धार केन्द्र, स्किल टेस्ट सेण्टर, प्रादेशिक कृषि औजार केन्द्र, मधेश स्टार्ट अप र इनोवेशन सेण्टर, टीच फॉर मधेश, हरेक ४ बिगाहा १ बोरिंग कार्यक्रम, मधेश आईटी पार्क, प्रशासनिक सुधार र सुशासन, लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम, मुख्यमन्त्री सुशासन अनुसन्धान फेलोशिप कार्यक्रम, भिजीट मधेश पर्यटन कार्यक्रम, मधेश रोजगार सूचना केन्द्र, मुख्यमन्त्री प्राकृतिक बिपत बीमा कार्यक्रम र एक पालिका एक कृषि लाइब्रेरीलगायतका कार्यक्रम तथा अभियान चलाइने योजनाहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै पत्रकारिता क्षेत्रको विकासका लागि नेपाल पत्रकार महासंघको भवन निर्माण, सामुदायिक रेडियोहरुको क्षमता अभिवृद्धि र ठोस कार्यक्रम ल्याएर पत्रकारहरूको क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने र वैदेशिक लगानी भित्र् याउन मधेश लगानी सम्मेलन गर्नेसमेत उल्लेख छ ।

मधेश प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्दै मितव्ययी शासन व्यवस्था सञ्चालनका साथै विकास खर्च बढाउने नीतिलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख छ । विवाहमा हुने गरेको अनावश्यक खर्च नियन्त्रणका लागि सामूहिक विवाह कार्यक्रमसमेत सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवले नीति तथा कार्यक्रम नियमित प्रक्रिया जस्तो रहेको बताएका छन् । उनले पुरानै कार्यक्रमहरुलाई निरन्रता दिइएको बताए ।

नीति तथा कार्यक्रममा सरकारले नयाँ योजनाहरु खासै ल्याउन नसकेको टिप्पणी गरेका छन् । सरकारले अहिले नै यस्ता यस्ता सस्तो लोकप्रियताका कार्यक्रमहरु ल्याउन थालेका छन् आगामी दिनमा सरकारको भविष्य अन्धकारमा भएको उनले टिप्पणी गरे ।

यता, जनता समाजवादी पार्टीका प्रवक्ता तथा प्रदेश सभा सदस्य मनिष सुमनले आपूmहरु पार्टीको राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेका कारण नीति तथा कार्यक्रममा भाग नलिएको बताए । उनले पार्टीको कार्यक्रम पहिला नै निर्धारण रहेको बेला सरकारले विश्वासको मत लिनु भन्दा पहिला तिथि मिति मिलाएर नै नीति तथा कार्यक्रम प्रस्तुत गरेको टिप्पणी गरे । उनले भने–‘जसपा सदनमा भएको भए सरकारले पहिला विश्वासको मत लिनु भन्दा पहिला नीति तथा कार्यक्रम ल्याउन सक्ने थिएन् ।’

त्यस्तै अर्का विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उपेन्द्र महतोले नीति तथा कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिए । उनले भने–‘सरकार नयाँ छ, ल्याइएको नीति तथा कार्यक्रम ठिक्कै छ । विगतका सरकारले पनि ल्याएको नीति तथा कार्यक्रमहरु ठिकै थियो तर, कार्यान्वयन पक्ष कमजोर थियो । वर्तमान सरकारले विगतको भन्दा फरक र कार्यान्वयन पक्ष सुदृढ गरेर अगाडि बढ्नु पर्नेछ ।’

Comment


Related News

Latest News

Trending News