अपडेट 
२०८१ जेष्ठ ३१, बिहीबार ०८:०२

जिल्ला प्रशासन कार्यालय धनुषाले बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोलामा अवैधरुपमा भएको बालुवा र गिट्टी उत्खननको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले छानबिनका लागि जिल्ला समन्वय समिति धनुषाका इञ्जिनीयरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको र समितिमा हुलाकी सडक निर्देशनालय र बटेश्वर गाउँपालिकाका एक–एक जना प्राविधिक रहेको जानकारी दिए ।

समितिलाई खोला उत्खनन भएको स्थल तथा उत्खनन गरी ढुङ्गा बालुवा थुपारेको स्थानको नापजाँचलगायत कार्यको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको उनले बताए । गाउँपालिकाले बस्ती तथा त्यहाँको पर्यावरणमा असर नपर्ने गरी गत फागुन महिनामा बडहडी खोलामा बालुवा तथा ढुङ्गा झिक्नका लागि ठेक्का लगाएको थियो ।

महोत्तरीको बर्दिवासको पञ्चधुरा सप्लायर्सले १४ हजार चार सय ४५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि २७ लाख नौ हजार एक सय तीन मा ठेक्का लिएको थियो । सम्झौताविपरीत ठेकेदार कम्पनीले स्काभेटर तथा अन्य ठूला यन्त्रको प्रयोग गरी तीन गुणाभन्दा बढी बालुवा तथा ढुङ्गा झिकेको आरोप लागेको छ ।

Comment


Related News

Latest News

Trending News