अपडेट 
२०८१ जेष्ठ ३१, बिहीबार ०८:०७

वर्षौँदेखि बसोबास गर्दै आएको जमिनलाई समेत कानुनी रूपमा आफ्नो भन्न नपाउँदाको पीडालाई पखाल्दै जमिनको लालपुर्जा र पक्की घर पाउने भएपछि धनुषास्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकाका मुसहर बस्तीका बासिन्दा खुसी भएका छन् ।

जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–३ स्थित तुलसियाही जब्दीका २२ घरधुरी रहेको उक्त मुसहर बस्तीका बासिन्दासँग आफू बसोबास गर्दै आएको जमिनको लालपुर्जा नहुँदा सरकारको योजना अन्तर्गत निर्माण हुने भवन निर्माण हुन सकेको थिएन । तर फस्र्ट फुड इन्फरमेशन नेटवर्क (फियान) नेपालको पहलमा अहिले उक्त समुदायका बासिन्दाले लालपुर्जा मात्र नभएर गाउँपालिकाले निर्माण गरिदिएको पक्की घर समेत पाउने भएपछि खुसी छन् ।

जमिनको नापी नहुँदा सरकारले घर निर्माण गर्न सकिरहेको थिएन । तर फियानको पहल पश्चात् नापी पनि भयो, लालपुर्जा पनि पाए र गाउँपालिकाले समुदायको २२ घरधुरी मध्ये १० घरधुरी परिवारका लागि भनेर घर निर्माण समेत गर्न लागेको छ । गाउँपालिकाले बाँकी रहेका परिवारको घर भने आगामी आर्थिक वर्षमा तयार गर्ने जनाएको छ ।

लामो समयपछि आफ्नो नामको लालपुर्जा र उक्त जमिनमा पक्की घरसमेत बनेको पाउँदा निकै हर्षित छन् मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा–३ की सुकमरिया देवी सदा । उनी भन्छिन्–‘अहिलेसम्म लालपुर्जा नभएकै जमिनमा मौखिक रूपमा आफ्नो भन्दै कच्ची (फुस)को घर बनाएर बसिरहेको थियौँ, जसले गर्दा गर्मीमा आगलागी, वर्षयाममा हुरी बतास र वर्षातमा पानीले बगाउला भन्ने डर सधैँ भरी रहिरहन्थ्यो । “तर अब आफ्नै नामको लालपुर्जा भएको जमिन र त्यसमा पनि पक्की घर बन्न थालेपछि निकै खुसी भएका छौँ ।” ढिलै भएपनि कानुनी रूपमा आफ्नो जग्गा भन्ने अधिकार पाएकोमा खुसीको सीमा छैन“, सुकमरियाले भनिन् ।

त्यही वडाका अर्का बासिन्दा दुखी सदा भन्छन्, “वर्षौँपछि कानुनी रूपमा आफ्नो जमिनलाई आफ्नो भन्न पाएका छौँ, जमिनको नापी नभएकै कारण लालपुर्जा बिनाको जग्गामा बसोबास गर्दै आएका थियौँ, बल्लतल्ल नापी भएपछि गाउँपालिकाले पक्की घर पनि बनाउँदै छ, जग्गाधनी पुर्जा र पक्की घर पाउँदा नेपालमै केही गर्ने सोच आएको छ ।” भविष्य उज्ज्वल हुने विश्वास गरेका छौँ, जमिन र घर आफ्नो भयो, अब युवालाई पनि गाउँमै टिकाउने रोजगारको व्यवस्था भए आफूसहित कोही पुरुष रोजगारीका लागि गाउँ बाहिर जानु नपर्ने दुखी सदा भन्छन् ।

वर्षौँदेखि बस्दै आएको जमिनको लालपुर्जा नहुँदा विपन्न वर्गले पाउने सुविधा पनि त्यहाँका बासिन्दाले पाउन सकेका थिएनन् । तर, वर्षदिनको प्रयासले जग्गाधनी पुर्जासँगै पक्की घर पनि पाउने भएको छुन सुसहर बस्तीका बासिन्दाले । साढे तीन कठ्ठा क्षेत्रफलमा बसोबास गर्ने २२ घरधुरीमा एक सय ४० जनसंख्या बस्दै आएका थिए । उनीहरूसँग उक्त जग्गाको लालपुर्जा समेत थिएन तर, फियान नेपालको पहलमा जग्गाको नापी पनि भयो र लालपुर्जा पाए ।

साथै गाउँपालिकाले २२ घरमध्ये १० घरधुरीको निर्माण प्रक्रिया थालेको छ । जसबाट ७० जना लाभान्वित हुनेछन् । दुई कोठा र एक भान्सा रहेको उक्त घरमा एक परिवार बस्न सक्नेछन् । उक्त बस्ती बारे मुखियापट्टि मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले भने–‘बस्तीमा अहिले चापाकल र शौचालयसहित १० घरधुरी निर्माणाधीन अवस्थामा छन् र यसअघि गाउँपालिकाले वडा नं. ५ स्थित चमार समुदायका लागि १८ वटा घरहरूको निर्माण कार्य थालेको थियो ।”

अध्यक्ष यादवले दलित, मुहर तथा डोम समुदायका लागि आगामी नीति तथा कार्यक्रममा थप ३० वटा घर निर्माण गर्ने योजना रहेको बताए । मुसहर समुदायलाई उनीहरूको जग्गाको लालपुर्जा र घर दिलाउने कार्यको नेतृत्व (फियान) नेपालले गरेको थियो भने अनौपचारिक सेवा केन्द्र (इन्सेक) का मधेश प्रदेश संयोजक राजु पासवान तथा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मन्जु खतिवडाको समेत महत्वपूर्ण भूमिका रहेको थियो ।

Comment


Related News

Latest News

Trending News