अपडेट 
२०८१ जेष्ठ ३१, बिहीबार २०:२८

नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण तथ्याङ्कीय प्रतिवेदनले नेपालमा अझै २० प्रतिशतभन्दा धेरै जसङ्ख्या गरिबीकाे रेखामुनि रहेका देखाएकाे हाे । प्रदेशगत रूपमा हेर्दा गरिबीकाे रेखामुनि रहेकाे जनसङ्ख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बाग्मती प्रदेशमा छ ।

प्रतिवेदनले आफ्नै घर भएका जनसङ्ख्या ८१ दशमलव ४ प्रतिशत देखाएकाे छ । यस्तै १५ दशमलव १ प्रतिशत परिवार भाडाका घरमा बस्ने गरेका र २ दशमलव ७ प्रतिशत परिवारसँग घर नभएकाे सर्वेक्षणले देखाएको छ ।

यस्तै विद्यालयमा पहुँच भएका विद्यार्थीको सङ्ख्या ७० दशमलव २ प्रतिशत रहेकाे छ । सरुवा रोग लागेका जनसङ्ख्या २४ दशमलव ९ र नसर्ने रोग लागेका जनसङ्ख्या १८ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २९ दशमलव ३ प्रतिशत जनसङ्ख्या चिकित्सा परामर्शको पहुँचमा रहेका सर्वेक्षणले देखाएकाे छ ।

यस्तै प्रति घरपरिवारको आय वार्षिक ४३ हजार ७ सय ३२ रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार नेपालमा रोजगारी ३२ दशमलव ४ प्रतिशत रहेको छ भने बेरोजगारी ४ दशमलव ७ प्रतिशत रहेको छ । श्रमशक्तिमा नभएका जनसङ्ख्या ६२ दशमलव ९ प्रतिशत रहेको छ ।

यस्तै विदेशबाट रेमिट्यान्स भित्रिने घरपरिवार औसत ४९ दशमलव ४ प्रतिशत रहेको छ । न्यूनतम आधारभूत आवश्यकताको औसत लागत वार्षिक ७२ हजार नौ सय आठ रुपैयाँ रहेको प्रतिवेदनले देखाएकाे छ । यसमा खानामा ३५ हजार २९ र खानाबाहेक ३७ हजार आठ सय ७९ रुपैयाँ रहेको छ ।

Comment


Related News

Latest News

Trending News