अपडेट 
२०८१ असार १, शनिबार ०६:४१

जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिलाई छिट्टै पूर्णता दिइने बताएका छन् ।

जेठ २८–३० सम्म जनकपुरधाममा सम्पन्न प्रथम राष्ट्रिय एकताको महाधिवेशनबाट अध्यक्षमा यादव सर्वसम्मत चयन भएपछि अन्य पद मिलाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिइए पछि उनले छिट्टै पूर्णता दिइने बताए ।

प्रेस मञ्च नेपालले शुक्रबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताए । उनले देशमा रहेका सबै प्रकारका विभेद अन्त्यका लागि आफ्नो पार्टी निरन्तर आन्दोलनमा रहने बताए । उनले पार्टीको महाधिवेशन राज्यमा सबैको पहुँच, समान व्यवहार तथा अधिकार स्थापित गर्न र मुलुकलाई थप समावेशी बनाउन महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताए । “शोषित, पीडित तथा पिछडिएका समुदायको सहयोगमा हाम्रो पार्टी अहिलेसम्म विभिन्न दबाबलाई चिर्न सफल भएको छ । यस महाधिवेशनबाट पार्टीलाई थप सशक्त, जागरुक तथा बलियो बनाएको छ । यहाँहरूको साथले हामी थप सफलता हासिल गर्दै जाने विश्वास जागेको छ”, उनको भनाइ थियो ।

जनकपुरधाममा सम्पन्न एकता महाधिवेशन अत्यन्त सफल भएको उल्लेख गर्दै उनले महाधिवेशन असफल बनाउन केही शक्तिले पार्टी फुटाएको तर त्यसबाट केही फरक नपरेको उनले जिकीर गरे । “यसलाई पार्टी फुट्नुभन्दा पनि केही व्यक्ति चोइटिएर गएको भनेर बुझ्न आवश्यक छ, त्यस्ता व्यक्ति जनताको हितमा कामगर्न नसक्ने र पदको लोभमा जीवन बिताउन बाध्य हुनेछन्”, उनले भने । अध्यक्ष यादवले महाधिवेशनले दिएको जिम्मेवारीअनुसार चाँडै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेसमेत बताए ।

महाधिवेशनमा विभिन्न मुलुकहरुबाट प्रतिनिधिहरु सहभागी हुनाले समेत पार्टीको अन्तर्राष्ट्रिय स्तरमा समेत छवि बनेको उनले बताए । उनले भने–‘महाधिवेशनमा सक्रिय सहभागिताले पार्टी र मित्र मुलुकहरुको सम्वन्ध थप प्रगाढ हुँदै गएको छ । यसले जसपा नेपाललाई आगामी दिनमा धेरै नै फाइदा पुर्याउने छ ।’

Comment


Related News

Latest News

Trending News